२९ आश्विन २०८३, बिहिबार

हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाउनेप्रति पर्यटनमन्त्री किरातीद्वारा दु:ख व्यक्त

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २६ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएकाप्रति गहिरो दु:ख व्यक्त गरेका छन् ।

जनकपुरधाममा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले दुर्घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन् । साथै, सोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

त्यस क्रममा उनले सरकारले दुर्घटनाको यथार्थ छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री किरातीले आफू मन्त्रालयको जिम्मेवारीमा आइसकेपछि ‘सेफ्टी फस्ट’ को नीतिअनुसार नेपाली आकाशलाई सुरक्षित बनाउने काम गर्न सबैलाई आग्रह गरेको पनि बताए ।

आज बिहान ९:५२ बजे सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडान भरेको कल साइन ९ एनए–एमभी भएको हेलिकोप्टर बिहान १०:१ बजे सम्पर्कविहीन भएकामा सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

हेलिकोप्टरमा सवार पाइटलसहित छ जना यात्रु सबैको मृत्यु भएको थियो । हेलिकोप्टरमा पाँच जना मेक्सिकाली नागरिक रहेका थिए ।