२९ आश्विन २०८३, बिहिबार

हुलाक बचतका खाता वाणिज्य बैंकमा हस्तान्तरण गर्न सुरू

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । हुलाक बैंकमा रहेका खाता एवम् वचत रकम राष्ट्रिय वाणिज्यमा हस्तान्तरण गर्न सुरू गरिएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को असार १२ गतेको निर्णयअनुसार आज (मंगलवार)देखि हस्तान्तरणको प्रक्रिया सुरू भएको हो ।

असार २९ गतेसम्म हस्तान्तरणको प्रक्रिया चल्ने भएकाले सो अवधिसम्म हुलाक वचत खाताका कारोबार पनि रोक्का रहने छ ।

सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत हुलाक वचत बैंकका खाताहरूलाई राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो । देशभरिका जिल्ला सदरमुकाममा रहेका ६८ वटा राष्ट्रिय वाणिज्य बैंकका शाखामा हुलाक वचत बैंकका खाता हस्तान्तरण गर्न थालिएको छ । राष्ट्रिय बैंकसँग असार २४ गते भएको सम्झौताअनुसार खाता हस्तान्तरण प्रक्रिया सुरू भएको हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरेले जानकारी दिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा असार १२ गतेको मन्त्रिपरिषद् बैठकले हुलाक वचत बैंकमा रहेका वचतकर्ताका खाता एवम् वचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी हुलाक वचत बैंकहरूको व्यवस्थापन गर्नका लागि गर्नका लागि सञ्चालनमा रहेका हुलाक वचत बैंकमा रहेको समग्र नाफा रकमबाट हाल घाटामा रहेका तथा कर्मचारीबाट हिनामिना भएका रकम भुक्तानी गरी बाँकी रहेको नाफा रकम नेपाल सरकारको सञ्चित कोषमा जम्मा गर्ने निर्णय पनि सरकारले गरिसकेको छ ।

हुलाक वचत बैंकमा रकम हिनामिना कार्यमा संलग्न कर्मचारीलाई कानुनबमोजिम कारवाही गर्ने र हिनामिना भएको रकम संलग्न कर्मचारीबाट कानुनबमोजिम असुल उपर गर्ने निर्णय पनि सरकारले गरिसकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव एवम् प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

त्यस्तै, हुलाक वचत बैंकमा रहेका खाताहरू हस्तान्तरणपछि हुलाक वचत बैंक खारेज गरी हुुलाक बैंक नियमावली २०३४ को खारेजीको प्रक्रिया अगाडि बढाउने निर्णय पनि मन्त्रिपरिषद् बाट भइसकेको प्रवक्ता सुवेदीले जानकारी दिए ।

देशभरि सञ्चालनमा रहेका ६८ वटा हुलाक वचत बैंकमध्ये १२ वटा घाटामा चलेका थिए । त्यहाँ कार्यरत कर्मचारीबाट वचत रकम हिनामिनासमेत गुनासो आउन थालेपछि आवश्यक पहल गर्दै सञ्चार मन्त्रालयले वचतकर्ताको रकमको सुरक्षाका लागि राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरणका लागि पहल थालेको सञ्चार तथा सूचना प्रविधि मन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए ।

सानातिना रकम जम्मा गर्न चाहने व्यक्तिलाई बैंकिङ सुवधा प्रदान गर्न स्थापना भएका हुलाक वचत बैंकको सेवा र कारोबारमा वचत तथा ऋण सेवा प्रदान गर्ने बैंक तथा तथा वित्तीय संस्थाहरूको विस्तारसँगै सङ्कुचन आएको छ । जसका कारण हुलाक वचत बैंक न्यून प्रभावी बन्न पुुगेको निष्कर्षसहित सरकार हुलाक वचत बैंकका खातालाई ‘क’ वर्गको सरकारी बैंकमा स्थानान्तरण गरी हुलाक वचत बैंक खारेज गर्ने निर्णयमा पुुगेको हो ।