२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्रीद्वारा आत्मालोचना, संसद् सुचारु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कमजोरी स्वीकार गरेका छन् । प्रधानमन्त्रीको हैसियतमा आफूले त्यस्तो बोल्नुहुँदैनथ्यो भन्दै उनले आफूले भावनामा आएर त्यस्तो अभिव्यक्ति दिएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आफ्नो विवादास्पद अभिव्यक्ति’ स्पष्टीकरण दिँदै प्रधानमन्त्री दाहालले यस्ता अभिव्यक्तिका लागि आफूले आगामी दिनमा आत्मसमीक्षा गर्ने बताए । तर, आफूले राजीनामा दिनुपर्ने विपक्षी दलहरूको माग तर्कपूर्ण नरहेको जिकिर उनले गरेका छन् ।

प्रधानमन्त्री दाहालले भविष्यमा आफूले दिने अभिव्यक्तिमा सतर्कता अपनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । ‘मेरो भाषा प्रधानमन्त्रीका रूपमा जसरी बोल्नुपर्यो, त्यसरी नभएको अनुभूति गर्दै भविष्यमा तपाईंहरूले गराउनुभएको ध्यानाकर्षणप्रति म सतर्क रहने विश्वास दिलाउँदै बिदा हुन्छु धन्यवाद,’ प्रधानमन्त्री दाहालले स्पष्टीकरण दिँदै अन्त्यतिर भनेका छन् ।

दाहालले आफूले प्रधानमन्त्रीको हैसियतमा सो कुरा बोल्न नहुने बताउँदै अगाडि भने, ‘प्रधानमन्त्रीको हैसियतले त्यस्तो भाषा नबोल्नुपथ्र्यो, ज्ञानुको बुबा भएर बोल्न पुगें ।’

गत सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री दाहाल विवादमा तानिएका हुन् । नेपालमा पहिलोपटक ट्रक ल्याएका भनिएका प्रितम सिंहमाथि आधारित रहेर लेखिएको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले विवादित अभिव्यक्ति दिएका थिए ।

‘उहाँ (पितम सिंह)ले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो, काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो,’ दाहालले भनेका थिए ।

प्रधानमन्त्री दाहालको सोही अभिव्यक्ति सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उनको राजीनामा माग गरेका थिए । एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहितका प्रतिपक्षी दलले संसद् अवरोध गर्दै आएका थिए । आजको राजधानी दैनिकमा खबर छ ।