
काठमाडौं, २५ असार । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कहाँ पुगिने हो भन्ने कुराको ठेगान नभएका पार्टीहरूले देश बनाउने भन्ने कुरा कल्पना समेत गर्न नसकिने बताएका छन् ।
पार्टीको केन्द्रीय स्कुल विभाग र स्थानीय विकास विभागद्वारा आयोजित नेकपा एमालेका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरूको राष्ट्रिय भेलालाई आज पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ–नयाँ पार्टीको क्षणिक बहकाउ र भ्रममा नपर्न आग्रह गर्दै भोलिको ठेगान नभएका पार्टीहरूले देश बनाउन नसक्ने बताएका हुन् ।
उनले एमाले नयाँ युग ल्याउने नयाँ सङ्कल्प बोकेको पार्टी भएको बताउँदै एमाले सबैभन्दा नयाँ विचार, नीतिकार्यक्रम र योजना बोकेको र राजनीतिक तथा विभिन्न अनुभवले परिपक्व नयाँ पार्टी भएको बताए ।

अध्यक्ष ओलीले स्थानीय तहलाई बलियो बनाउनपर्छ भन्ने अवधारणा एमालेको रहेको र त्यसभित्र जिल्ला समन्वय समिति पनि पर्ने स्पष्ट गर्दै जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरूलाई जिल्लाको समग्र विकासको योजना बनाउन, स्थानीय तहका कामको अनुगमन गर्न, आवश्यक सुझाव दिने काम गर्न आग्रह गरे ।
उनले पार्टीमा अवसर पाउने जति लिइसकेका स्वार्थी तत्वहरूले पार्टी र कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने योजनासहित पार्टीबाट बाहिरिए पनि त्यस चक्रव्युहलाई तोडेर अहिलेको अवस्थामा स्थापित भएको चर्चा गरे । अब मिसन–२०८४ र मिसन–५१ प्रतिशत सफल पार्ने गरी काम गर्न जनप्रतिनिधिहरूलाई ओलीले निर्देशन दिए ।















प्रतिक्रिया