
काठमाडौं, २५ असार । राष्ट्रिय युवा संघ नेपालले अति विशिष्ट एवम् उच्च पदस्थ व्यक्तिहरूको उपचार खर्च राज्यले व्यहोर्नुपर्ने व्यवस्था अन्त्य गर्नुपर्ने लगायत माग राख्दै स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई ज्ञापनपत्र बुझाएको छ ।
आज सोमबार मन्त्रालयमा संघका अध्यक्ष क्षितिज थेवेले नेतृत्वको टोलीले नेपालमै सम्भव हुने उपचार नेपालमै गर्ने व्यवस्था गर्नुपर्ने र नेपालमै सम्भव हुने उपचार विदेश गई गराएमा त्यसको खर्च राज्यले व्यहोर्ने परम्पराको अन्त्य गर्नुपर्नेलगायतका माग राख्दै मन्त्री बस्नेतलाई ज्ञापनपत्र बुझाएको हो ।
मुलुकका राष्ट्रपति, प्रधानमन्त्री लगायत अति विशिष्ट एवम् उच्च पदस्थ व्यक्तिहरूको उपचार स्वदेशमै गर्न नसक्नुले नेपालकै स्वास्थ्य क्षेत्रको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठेको संघका अध्यक्ष थेवेले बताए । उनले आवश्यक पूर्वाधार हुँदाहुँदै पनि विदेश गएर उपचार गर्ने र उपचारका नाममा हुने राज्यकोषको दोहन र स्वाभिमान गिराउने गतिविधि विरुद्ध तवरले उभिने चेतावनी दिए ।
सरकारले उच्च पदस्थ व्यक्तिहरूको उपचार नेपालमा नै गर्न नसकेको खण्डमा संघले आर्थिक सहयोग संकलन गरेर भए पनि स्वदेशमा नै उपचार गर्ने विषयमा अग्रसर रहने उनले बताए ।

ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री बस्नेतले गम्भीर प्रकृतिका केहि रोगबाहेक अन्य रोगहरूको उपचार नेपालमा नै हुने भन्दै उच्च पदस्थ व्यक्तिहरूको उपचार स्वदेशमै गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताए । उनले नेपालमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि सरकारले आवश्यक वातावरण बनाउने पनि धारणा व्यक्त गरे ।
युवा संघले सम्पूर्ण स्थानीय तहको स्वास्थ्य चौकीमा एकजना एमबीबीएस डाक्टर दरबन्दीको व्यवस्था अनिवार्य कार्यान्वयन गर्नुपर्ने, एक स्थानीय तह, एक अस्पताल निर्माण कार्य अत्यन्तै ढिलासुस्ती भएकाले अस्पताल निर्माण कार्य यथाशीघ्र सम्पन्न गरी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुपर्ने माग पनि अघि सारेको छ ।















प्रतिक्रिया