
काठमाडौं, २३ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सरकारमा नहुनेबित्तिकै विदेश पलायन हुने युवाहरूको संख्यामा उच्च वृद्धि भएको बताएका छन् ।
अनेरास्ववियु केन्द्रीय कमिटीद्वारा आयोजित स्ववियु काउन्सिल नेपालको दशौँ राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज कीर्तिपुरमा सम्बोधन गर्दै उनले नेकपा एमाले सरकारमा हुँदा आम युवाहरूमा भरोसा बढ्ने र एमाले नहुँदा निराशा बढ्ने भएकाले पछिल्लो समय रोजगारीको खोजी गर्दै विदेसिनेको संख्या बढेको बताएका हुन् ।
पछिल्लो समय इतिहासकै धेरै युवा विदेश पलायन भएको तथ्यमाथि चर्चा गर्दै उनले जतिबेला एमाले सरकारमा हुन्छ त्यतिबेला युवाहरू कम विदेसिने र एमाले नहुँदा धेरै विदेसिने गरेको बताए ।

‘तपाइँहरूले अहिले सञ्चारमाध्यमहरूमा देख्ने गर्नुहुन्छ, यो वर्ष इतिहासमै धेरै युवाहरू पलायन भए । यो समाचारभित्र विश्लेषण गर्ने हो भने जतिबेला एमालेको सरकार बन्छ युवाहरू विदेश कम जान्छन्, जतिबेला एमाले सरकारबाट बाहिरिन्छ युवाहरू विदेश बढी जान्छन्,’ महासचिव पोखरेलले भने, ‘यसबाट एमाले सरकारमा हुँदा देश बन्छ भन्ने विश्वास जागेको हुन्छ त्यसकारण कम जान्छन्, एमाले सरकारबाट बाहिरियो भने देश अब बन्दैन भन्ने निराशा पैदा हुन्छ र युवाहरू विदेश बढी जान्छन् । तथ्यले त्यही भन्छ ।’

त्यसकारण देशको निर्माणका लागि एमालेलाई राष्ट्रिय शक्तिको रुपमा खडा गर्नुपर्ने आवश्यकता रहेको महासचिव पोखरेलको भनाइ छ ।
यस्तै, उनले देश बनाउने सामथ्र्य एमालेसँग भएको कुरा आम नेपालीमाझ तथ्यहरूले पुष्टि गरिसकेको हुनाले एमाले सरकारमा नहुँदा युवाहरूमा निराशा छाउने गरेको बताएका छन् ।













प्रतिक्रिया