
काठमाडौं, २३ असार । नेकपा एमालेका नेता खिमलाल भट्टराईले कांग्रेसलाई वैशाखी नटेकी उभिन सक्ने बनाउनका लागि फिजियोथेरापी आवश्यक रहेको बताएका छन् ।
भर्खरै सकिएको कांग्रेस सभापतिको भेलामाथि टिप्पणी गर्दै उनले कांग्रेस अहिलेको राजनीतिको चुरोमा नपुगी तङ्ग्रिन सम्भव नरहेको समेत बताएका छन् ।
‘कांग्रेस तङ्ग्रिन सम्भव देखिन्न । वैशाखी नटेकी उभिन सक्ने बनाउन काँग्रेसले फिजियोथेरापी गर्नुपर्यो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बोलाएको सभापति भेलाबाट काँग्रेसको संगठन शिथिल भएको, गठबन्धन सरकारमा कांग्रेसको भूमिका सहयोगी मात्रै रहेको, सरकारको काम प्रभावकारी नभएको र अर्थमन्त्रीले गुट हेरेर बजेट बाँडेको स्पष्ट भएको उल्लेख गरेका छन् ।
नेता भट्टराईले कांग्रेस सभापतिको पार्टीभित्रको समस्याको पहिचान सही रहेको उल्लेख पनि गरेका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवा भेलामा नगई सरकारको पालो कुरेर बसेको बताएका छन् ।
‘पार्टी सभापति शेरबहादुर देउवाजी भेलामा जानुभएन । निजले सरकारको पालो कुरेर बस्नु भएको छ,’ उनले लेखेका छन् ।
महामन्त्री मित्रहरूले दु:ख गरेर पार्टीको भलो चिताई बोलाएको बैठक गुटमा पो बदलियो कि ? भन्ने प्रश्न उठेको नेता भट्टराईको भनाइ छ ।













प्रतिक्रिया