बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

न्यूयोर्कमा नेपाली व्यवसायीहरूको संस्था स्थापना, प्रदीप श्रेष्ठले गरे नेतृत्व

दैनिक नेपाल २०८० असार २२ गते २२:५४

अमेरिका, २२ असार । न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय सञ्चालन गरेर बसेका नेपाली व्यवसायीहरूले ‘ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्श’ गठन गरेका छन् ।

त्यस क्षेत्रमा व्यवसाय गर्ने व्यवसायीहरूको हक, हित र पक्षमा काम गर्ने उद्देश्यसहित व्यवसायी प्रदीप श्रेष्ठको नेतृत्वमा संस्था स्थापना गरिएको हो ।

श्रेष्ठ नेतृत्वको ११ सदस्यीय तदर्थ समितिमा नेविन क्षेत्री, लेलिन कँडेल, अमित प्रताप शाह, छेपाक दोर्जे गुरुङ, माम्पी घोष, अञ्जन श्रेष्ठ, गोविन्द लामा, मनितादेवी गुरुङ, दीपक श्रेष्ठ र च्छोमो डजेल सदस्य छन् ।

यसैगरी, व्यवसायीहरूले ६ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेका छन् । सल्लाहकार समितिमा खगेन्द्र जीसी, डा विनोद शाह, नवीन शेरचन, नवराज केसी, पासाङ नुरु शेर्पा र जङग बबहादुर बम रहेका छन् ।

गत वर्ष दशैंतिहारको उपलक्ष्यमा आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रममा छलफल गरी प्रस्ताव गरिएको यस संस्थालाई उपस्थित व्यवसायीहरूले संस्थागत रूपमा अघि बढाउने निर्णय गरेपश्चात संस्था दर्ता गरी हालका ११ सदस्यीय तदर्थ समिति गठन गरिएको समितिका अध्यक्ष प्रदीप श्रेष्ठले जानकारी दिए ।

यो समितिले आगामी तीन महिनाभित्र सदस्यता वितरण गरेर अधिवेशन गर्नुपर्ने छ । हालका लागि सदस्यता लिन ‘आईआरएस’ बाट ‘ईआईएन’ लिएर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूले मात्र सदस्यता लिन सक्ने छन् । नवगठित समितिले स्टेट डिपार्टमेन्टका साथै न्यूयोर्क राज्यले जारी गर्ने व्यावसायिक सूचना र सुविधाहरू नेपाली व्यवसायीहरूलाई पनि उपलब्ध गराउन पहल गर्ने बताइएको छ ।

संस्थाको बैंकिङ कारोबारका लागि नेपालीहरूद्वारा नै प्रवर्द्धित एभरेष्ट फेडेरल क्रेडिट युनियनमा बैंक खाता खोलिएको जानकारी पनि अध्यक्ष श्रेष्ठले दिएका छन् । उनले न्यूयोर्क आसपासमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूलाई सदस्यता लिन अपील समेत गरेका छन् ।

सदस्यता लिनका लागि संस्थाकै वेबसाइटबाट प्रक्रिया पूरा गर्न सकिने पनि उनले बताएका छन् । हाललाई सदस्यता शुल्क २५० डलर राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित