
काठमाडौं, २२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले छिमेकीलाई कम्फर्टेबल हुनेगरी सरकार बनाउने कामले मुलुकको भूराजनीतिक परिस्थिति पेचिलो बन्दै गएको बताएका छन् ।
नेपाल प्राज्ञिक परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक तथा सामरिक चूनौतीहरू’ विषयक विचार गोष्ठीमा अध्यक्ष लिङ्देनले देशलाई सबै हिसाबले परनिर्भर बनाउने र कसैको आड लिएर सत्तामा टिकिरहने संस्कृतिले नेपाल गम्भीर भूराजनीतिक चपेटामा परेको बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको विवादित पछिल्लो अभिव्यक्तिलाई लक्षित गर्दै उनले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाएको भनेर सुनाउँदै जनतालाई प्रभाव दिन खोज्ने प्रधानमन्त्री देशले पाएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री बनाउनका लागि भित्री रुपमा हुने चलखेल सबैलाई थाहा भए पनि अहिले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाएको भनेर सुनाएर प्रभाव दिन खोज्ने प्रधानमन्त्री देशले पाएको उनको भनाइ छ ।
विभिन्न आवरणमा विदेशीहरुको सेवा गरेर सत्तामा जाने प्रवृत्ति बढिरहेको र आफ्ना चाहना पूरा गर्न विदेशी शक्ति पनि मुलुकमा हाबी हुन थालेको उनको भनाइ छ । लिङ्देनले विदेशीलाई खुसी पार्नका लागि नै अहिले सेनामाथि पनि आक्रमण सुरु भएको र सेनाको संख्या घटाउनुपर्छ भन्ने आवाज उठ्न थालेको जिकिर गरे ।













प्रतिक्रिया