
काठमाडौं, २२ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवास छानविन प्रकरण, नागरिकता अध्यादेश प्रमाणीकरणको विषय, कोशी प्रदेशमा संविधान मिचिएको तथा भुटानी शरणार्थी प्रकरणलाई मत्थर बनाइएको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।
आज शुक्रबार कीर्तिपुरमा स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले पछिल्लो समय गरेको जस्तो देखिएका सबै कामकारबाही ‘पोलिटिकल स्टन्ड’ भएको बताएका छन् । सरकारको ध्यान जनताको सुख र समृद्धि तथा देशको विकास भन्दा पनि आफू सत्तामा टिकिरहने प्रपञ्चमा मात्रै केन्द्रित भएको अध्यक्ष ओलीको आरोप छ ।
ललिता निवास छानविन ‘पोलिटिकल स्टन्ट’ मात्रै हो, यसमा गठबन्धनकै नेता पर्छन्
ओलीले ललिता निवास छानविन प्रकरण ‘पोलिटिकल स्टन्ट’ मात्रै भएको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अहिले सरकारले गरिरहेको छानबिन प्रकरण नाटक मात्रै भएको बताएका हुन् ।
‘ललिता निवासको जग्गाको छानबिन जुन भनिएको छ त्यो आफू हिरो बन्ने स्टन्टमात्र हो । यसमा गठबन्धनकै मान्छे पर्ने हुन् । हाम्रो पार्टीको कसैको छोराले जमिन किनेको थियो, धनीपुर्जा हेरेर किन्यो होला, सबै प्रक्रिया पुर्यायो होला । अहिले मानौं एमालेकै कोही मान्छे यसमा छ जस्तो प्रचार गरिरहेका छन् । ललिता निवासको दोषी को को हुन् ? कहिलेबाट जफत गरिएका जमिन कांग्रेसीहरूलाई फिर्ता गर्न थालियो ? सरकारले प्रष्ट पारोस्,’ अध्यक्ष ओलीले भने ।
नेकपा एमाले स्वच्छता, पारदर्शिता, कानुनी राज, लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने ओलीले बताए । उनले भने, ‘देशलाई अलमल पार्न अनेक प्रकारका भ्रम फिजाइएको छ ।’
संसदमा मात्रै होइन, स्पट तोकेर बोलाए हुन्छ, त्यहीँ सामना गर्न तयार छौँ
छिमेकी देश भारतले नेपालको सरकार बनाउँछु कहिल्यै नभनेको दाबी एमाले अध्यक्ष केपी शर्मा ओलीको छ । भारतले अहिलेसम्म नेपालमा सरकार बनाउँछु नभनेको भन्दै प्रितम सिंहलाई अनावश्यक मुछेको ओलीको भनाइ छ । अध्यक्ष ओलीले प्रितम सिंह प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भनेर झुट बोलेको बताए ।
उनले नेपालमा बहुदलीय व्यवस्था भए पनि कानुनी राज नभएको भन्दै संसदबाट छानिएको सरकार नभएको कुरा प्रधानमन्त्री आफैले भनेको जिकिर गरे । ‘अस्ति प्रधानमन्त्री आफैले एउटा प्रमाण बल्ल पेश गर्नुभएको छ । यस्ता प्रमाण कति छन्’, उनले भने, ‘कति कुदेका छन् दिल्ली, कति उडेका छन् दिल्ली,’ ओलीले भने, ‘प्रितम सिंहले प्रेस मिट गरी भन्नुहुन्छ–प्रचण्डलाई प्रधानमन्त्री बनाउन म दिल्ली गएको होइन, गएको छैन भनेर । उनले किन भन्नुहुन्छ उहाँ नै जान्नुहुन्छ तर म गएको छैन भन्नुहुन्छ ।’
प्रितम सिंहलाई पनि बेकार मुछेको भन्दै अध्यक्ष ओलीले भारतले अहिलेसम्म नेपालमा सरकार बनाउँछु भनेर नभनेको बताए । ‘त्यो भन्नु नेपालको सार्वभौमसत्ता विपरीत हो त्यो कुरा भारतलाई पनि थाहा छ । भारत भन्दैन तर नेपालको प्रधानमन्त्री भनिरहेका छन् कि नेपालको सार्वभौमसत्ता नेपालको संसदमा छैन, नेपाली जनतामा छैन’, ओलीले भने, ‘नेपालका सांसदहरूले सरकार बनाउने होइन दिल्ली दौडिएर सरकार बन्छ, धेरैपल्ट मलाई बनाउन पनि मान्छे कुदेको थिए ।’

अध्यक्ष ओलीले राष्ट्रियता र देशको सार्वभौमसत्ता माथि मजाक उडाएकाले एमालेले प्रधानमन्त्रीको राजीनामा मागिएको बताए । उनले गठबन्धनले बिहीबार बैठक बोलाएर मसल ठटाएर पार्लियामेन्टमै भेटौँला भनेको भन्दै प्रतिपक्षले भेटौँला भनेपछि भेट्नै पर्ने बताए ।
‘के का लागि पार्लियामेन्टमै सामना गर्छौ भनेको हो ? उहाँहरूले वार्ता गर्छौ समस्या समाधान गर्छौ भन्नुभएन । पार्लियामेन्टमा सामना गरिन्छ भने, प्रतिपक्षको म मसिनो स्वरमा भन्न चाहन्छु– पार्लियामेन्टमात्र होइन सत्तापक्ष जहाँ भन्छ हामी त्यहाँ तयार छौँ । स्पट तोकेर बोलाए हुन्छ ।’ अध्यक्ष ओलीले अहिलेको सरकार उन्माद, अहंकार र धम्कीको भाषामा मानसिक दासतामा दबाउन चाहेको भन्दै स्वाभिमानी देश त्यस्तो गर्न तयार नभएको बताए । उनले भारतलाई समेत विवादमा तानेर आफ्नो स्वार्थसिद्धि गर्न लागेको भन्दै दम्भको आधारमा अलोकतान्त्रिक क्रियाकलाप भइरहेको बताए ।
राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढे
ओलीले संविधान मिच्न राष्ट्रपति रामचन्द्र पौडेल नै उत्ताउलिएर अगाडि बढेको आरोप लगाएका छन् । सरकार र राष्ट्रपति दुवै संविधान मिच्न लागि परेको उनको भनाइ छ । ‘सम्माननीय राष्ट्रपतिज्यू संविधान मिच्न आफै उत्ताउलिएर अगाडि बढ्नुभयो । उहाँले सत्ताको पक्ष लिनुभयो त्यो दु:खद कुरा हो,’ अध्यक्ष ओलीले भने । सरकार लगातार संविधान मिच्न लागिपरेको उनको आरोप छ ।
उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा आक्रोश पोख्नु भयो । उनले भने, ‘राष्ट्रपतिबाट संविधानविपरीत पोहोर नै मरिसकेको त्यो । राष्ट्रपतिले समयमै हस्ताक्षर नगरेपछि पोहोरै सिद्दिसकेको थियो त्यो । त्यसलाई विधिबाट अगाडि बढाउनुपर्दथ्यो, त्यो गर्न सकिन्थ्यो त्यसमा हामीले भनेका पनि हौँ । तर सत्ताउन्माद, गठजोड, भागबण्डा स्वार्थको । संविधान नमान्ने बलमिच्याइँ गरेर अस्तित्वमा नरहेको ऐन अहिले प्रमाणीकरण गरिदिनुपर्यो ।’ सरकार उन्माद, अहंकार र धम्कीको भाषामा लतार्न चाहेको ओलीको भनाइ छ ।
गठबन्धनको आदेशमा कोशीका सभामुखले संविधान मिचे
अध्यक्ष ओलीले कोशी प्रदेशमा सरकार गठन गर्न सभामुखको समेत हस्ताक्षर प्रयोग गरिएकोमा आपत्ति जनाए । गठबन्धनले सत्ता स्वार्थका लागि संविधान मिचेको आरोप लगाउँदै स्वार्थहरूको कित्ताकाट गरिरहेको बताएका हुन् ।
‘अहिले पनि संविधान लगातार मिच्ने कसैको बहुमत छैन बहुमत नभएका पार्टीहरू एक ठाउँमा मिलेर, स्वार्थ बाँडेर, देशका हितलाई चकनाचुर पारेर बर्थडेको केक काटेझैं राष्ट्रहका हितहरू काटकुट पारेर बाँडेर सत्ता बनाउने र टिकाउने घीनलाग्दो खेल खेलिरहेका छन्,’ अध्यक्ष ओलीले भने ।













प्रतिक्रिया