
काठमाडौं, २२ असार । जिम्बावेमा भएको आईसीसी विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टीम स्वदेश फर्किएको छ ।
आज शुक्रबार स्वेदश फर्किएको राष्ट्रिय क्रिकेट टीमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंह लगायतका पदाधिकारीले स्वागत गरे ।
प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबेसँग, वेस्ट इन्डिजसँग, नेदरल्याण्डसँग पराजित भएको थियो भने अमेरिकालाई मात्र हराएको थियो । प्लेअफ खेलमा नेपालले युएईलाई हराएको थियो भने आयरल्याण्डसँग पराजित हुँदै आठौं स्थानमा प्रतियोगिता टुङ्गयाएको थियो ।
स्वदेश फर्केपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले विश्वकप छनोटमा सोचे अनुसारको नतिजा नआए पनि धेरै अनुभव प्राप्त भएको बताए । उनले अहिलको अनुभवलाई आगामी प्रतियोगितामा प्रयोग गर्ने उल्लेख गरे । टेष्ट राष्ट्रहरुसँग खेल्दा निकै उत्साहित भएको र नेपाली टोलीले निकै राम्रो खेलेको उनले बताए ।
त्यस्तै, राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक मोन्टी देशाईले विश्वकप छनोटमा नेपाली खेलाडीको प्रदर्शन राम्रो देखिएको बताए । सोचेजस्तो लक्ष्य हासिल नभए पनि आगामी प्रतियोगितामा राम्रो तयारी गर्ने उनको भनाइ छ ।
उनले राष्ट्रिय क्रिकेट टीम थप बलियो हुँदै गएको पनि बताएका छन् ।















प्रतिक्रिया