
काठमाडौं, २१ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
उनले एसईई परीक्षाको विभिन्न ग्रेडमा उत्तीर्ण भएका विद्यार्थीहरूलाई आगामी पढाइका लागि विषय छनोट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिएका छन् ।
छनोट गरेको विषयको अध्ययन र जीवनका सम्पूर्ण परीक्षा सफल बनोस् भन्दै उनले विद्यार्थीहरूलाई शुभकामना दिएका हुन् ।
‘अबको पढाइमा विषय छनोट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिन्छु,’ ओलीले शुभकामना दिदै भनेका छन्, ‘शिक्षामा आफूले छनोट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस् । जीवनका सम्पूर्ण परीक्षा सफल होउन्, उत्तरोत्तर प्रगतिको कामना !’
यसैबीच, अध्यक्ष ओलीले हिजो बुधबार संसद हेर्न नयाँबानेश्वरस्थित संसद भवन पुगेका विद्यार्थीहरूलाई राम्रो पढेर विवेकी नागरिक बन्न सुझाव दिएका छन् । देशले विवेकी नागरिक मागिरहेको बताउँदै उनले विद्यार्थीहरूलाई राम्रो पढ्न आग्रह गरेका हुन् । त्यस क्रममा उनले विद्यार्थीहरूसँग तस्वीरहरू समेत खिचाएका छन् ।
त्यसबारे जानकारी दिदै उनले सामाजिक सञ्जालमा यसरी लेखका छन्–
खुलेको आकाश, खुलेका चेहरा !!
आज संसदबाट बाहिरिंदैगर्दा गाडी चढेर पर पुगिसकेको थिएँ । झरीपछि खुलेको आकाश सफा देखिएको थियो । संसद् परिसरमा स्कूले नानीहरु दौडिंदै आए । गाडी रोकेर ओर्लिएँ र उनीहरुसँग एकछिन् समय बिताएँ । उनीहरुका आँखा र चेहरा खुलेको आकाश भन्दा पनि सफा थिए । हेरिरहेँ र सेल्फी खिचेँ ।
प्यारा नानीबाबूहरु !
देशले विवेकी नागरिक मागेको छ । राम्ररी पढ्नू, राम्रो बन्नू ।













प्रतिक्रिया