३० आश्विन २०८३, शुक्रबार

रामचन्द्र पौडेलले म तिर्छु भन्दाभन्दै परराष्ट्रले किन माग्यो अर्थसँग उपचार खर्च ?

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । केही समयअघि राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा भएको खर्च माग गर्दै परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।

उपचार गरी भारतबाट फर्किएलगत्तै राष्ट्रपति पौडेलले आफ्नो उपचारमा लागेको खर्च आफैंले व्यहोर्ने प्रतिबद्धता जनाएका थिए । तर, आज एकाएक उनको उपचारको खर्चबापतको रकम माग गर्दै परराष्ट्रले अर्थलाई पत्राचार गरेको समाचार बाहिरिएपछि पौडेलले उपचार खर्च आफैं तिर्छु भनेर जनतालाई ढाँटेको खुलासा भएको छ ।

राष्ट्रपति कार्यालयले गत वैशाख १९ गते एक प्रेस नोट जारी गर्दै भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा भएको सम्पूर्ण खर्च राष्ट्रपति रामचन्द्र पौडेल आफैंले व्यहोर्ने इच्छा व्यक्त गरेको जनाएको थियो । त्यसबाट राष्ट्रपति पौडेलविरुद्ध हुँदै आलोचना मत्थर भएको थियो ।

राष्ट्रपति कार्यालयले सो प्रेस नोट जारी गर्नुअघि स्वदेशमै हुन सक्ने सामान्य उपचारका लागि विदेश गएको भनी राष्ट्रपति पौडेल आलोचित बनिरहेका थिए । राष्ट्रपति कार्यालयले सो सूचना जारी गरेर जनताको आलोचना दबाउँदै अन्तत: राष्ट्रपति पौडेल राज्य कोषकै दोहनमा लागेको घटनाक्रमले पुष्टि गरेको छ ।

त्यसो त राष्ट्रपति पौडेले आफ्नो उपचार खर्च आफैं गर्छु भन्दाभन्दै परराष्ट्रले अर्थ मन्त्रालयसँग रकम निकासाको माग गर्नु आम चासोको विषय बनेको छ ।

किन माग्यो परराष्ट्रले अर्थसँग पैसा ?

राष्ट्रपति पौडेलाई २०८० वैशाख ६ गते श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्सबाट भारत लगिएको थियो । भारतबाट वैशाख १७ मा फर्किदा राष्ट्रपतिसहितको टोली नेपाल वायु सेवा निगमको नियमित उडानबाट आएको थियो ।

चार्टर विमान र नियमित उडानका भाडाबापत ५५ लाख २ हजार २७९ रूपैयाँ भुक्तानीका लागि परराष्ट्रले सोमबार अर्थलाई पत्राचार गरेको हो । रकम माग गर्दै पत्राचार गर्नुको मुख्य कारण यही असार १२ गते बसेको मन्त्रिपरिषदको बैठक हो । सो बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा असार १५ गते प्राप्त भएको र सोही आधारमा रकम निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिएको बताइएको छ ।