३० आश्विन २०८३, शुक्रबार

कृषि पेसा निर्वाहमुखी मात्रै भइरहँदा नेपालको गरिबी हटाउन सकिदैन : केपी ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि पेसा निर्वाहमुखी मात्रै भएकाले नेपालको गरिबी हटाउन नसकिएको बताएका छन् ।

आज मंगलबार पार्टी कार्यालय च्यासलमा पार्टीको कृषि तथा पशुपन्छी विभागको बैठकलाई सम्बोधन गर्दै ओलीले नेपालको दीगो विकास नै कृषि भए पनि कृषि अर्थतन्त्र नै कमजोर हुदा गरिबी हट्न नसकेको उल्लेख गरेका हुन् ।

स्रोत र सम्भावना अथाह हुँदाहुँदै स्रोतको न्यूनतम उपयोग गर्न नजान्दा समग्र मुलुकको अर्थतन्त्र नै कमजोर बनेको ओलीको भनाइ छ । कृषिमा गरिने मेहनत र लगानीको प्रतिफलको ग्यारेन्टी गरिदिने हो भने कोही पनि बेरोजगार बस्नु नपर्ने उनको भनाइ छ ।

अनाज उत्पादनका लागि प्राकृतिक र उर्वर भूमीलाई बाझो राखेर देश उभो नलाग्ने भन्दै ओलीले कृषिलाई आधुनिकीकरण गर्दै उद्योगमा लैजान सुझाव दिए । अध्यक्ष ओलीले कृषि क्षेत्रलाई रोजगारी र स्वरोजगारको अवसर बनाउदै अनाज निर्यात गरेरै देशलाई धनी बनाउन सकिने दाबी गरे ।

कृषिमा गरिने लगानी प्रभावकारी बनाउँदै यसबाट आउने प्रतिफलको न्यायोचित वितरण गरिए विदेशबाट नेपाली आफै घर आउने दाबी अध्यक्ष ओलीको छ ।

ओलीले गरिबी निवारणका लागि भाषण गर्ने भन्दा पनि आधुनिक कृषि प्रणालीमा मुलुकलाई लैजानुपर्ने बताए । कृषिलाई उद्योगका रुपमा विकास गर्दै देशकै आर्थिक मेरुदण्ड बनाउन सकिए मात्रै नेपालको आर्थिक प्रणाली दीगो हुने उनको भनाइ छ ।