३० आश्विन २०८३, शुक्रबार

कारोबार बन्द हुने डरले एमालेलाई सत्तामा पुग्नबाट रोक्न खोजिदैछ : केपी ओली

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही मान्छेहरूको कारोबार बन्द हुने डरले नेकपा एमालेलाई सरकारमा पुग्नबाट रोक्ने प्रयास भइरहेको बताएका छन् ।

भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’ आज सोमबार उद्घाटन गर्दै अध्यक्ष ओलीले देश र नागरिक समृद्ध बनाउने तथा देशको आधुनिकीकरण गरी विकास गर्नुपर्छ भन्ने आफ्नो कुरा सुनेपछि केही मान्छेहरू विशेषगरी केपी ओलीलाई रोक्न लागि परेको बताएका हुन् ।

‘देश समृद्ध होस्, नागरिक समृद्ध होऊन्, यस देशको आधुनिकीकरण गर्नुपर्छ, विकास गर्नुपर्छ भन्ने मेरो कुरा सुनेपछि केही मान्छेहरू यो मान्छेलाई सरकारमा पुग्न नदिन केही न केही उपाय गर्नैपर्छ भनेर लागेका छन्,’ अध्यक्ष ओलीले भने, ‘किनभने यी कामहरू गर्नुको अर्थ उनीहरूको कारोबार बन्द हुन्छ । त्यस कारण केही मान्छेहरू त्यसको विरुद्धमा लाग्छन् ।’

‘देश समृद्धि होस्, नागरिक सु:खी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरू आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपायको खोजीमा लागिरहेको उनको भनाइ छ ।

अध्यक्ष ओलीले आफू सरकारमा सहभागी भएको बेला सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता मासिक चार हजार रुपैयाँ पुर्‍याउनेलगायत थुप्रै काम गरेको तर त्यसको जस आफूलाई नै दिनुपर्छ भन्ने मान्यता नलिएको पनि उल्लेख गरे । उनले आफू सरकारमा नभए पनि देश र नागरिकका लागि केही न केही काम गरिरहेको बताएका छन् ।

‘कमसेकम के चाँहि भन्न सक्छु भने म सरकारमा हुँदा ज्येष्ठ नागरिक भत्ता प्रतिमहिना चार हजार रुपैयाँ दिने निर्णय गरेको थियो । हाम्रा बालबालिकाहरू अनाथ भएर बस्न सुहाउँदैन भनेर उनीहरूको खाने, बस्ने, पढ्ने प्रबन्ध सुरु गराएँ । बाटाघाटाले नेपाल जोडियोस्, दुर्गम ठाउँ कहीँ पनि नरहोस् भनेर हुलाकी बाटोलाई दुई लेनको राजमार्ग बनाइएको हो । मदन भण्डारी राजमार्ग नयाँ बनाइएको हो । जनकपुरमा रेल ल्याइएको हो । म नेपालको दुर्गम ठाउँहरू घुम्न गएको छु । चाहे मिली भ्याली होस्, चाहे रुबी भ्याली होस्, चाहे अरू ठाउँहरू हुन् । झापाको मात्रै कुरा होइन, म देशभरिका नागरिकलाई माया गर्छु,’ ओलीले भने, ‘झापाको बाटो बनाउने कुरा होइन्, म देशभरि बाटो बनाउँछु । योबापत मैले श्रेय पाउँ भनेर होइन । मलाई श्रेय पाउनु/नपाउनुसँग खासै अर्थ राख्दैन । कसैले राम्रो भनोस्, राम्रो नभनोस् तर राम्रो काम चाहिँ गर्नैपर्छ ।’

यस्तै, उनले नेपालमा बालबालिका र ज्येष्ठ नागरिकप्रति हेरचाह र सेवा गर्ने परम्परा निक्कै पुरानो भएको बताएका छन् । नेपाल अनौठो विगतले भरिएको देश भएको चर्चा गर्दै उनले स्याङ्जाको आँधी खोलामा श्रवण कुमार मारिएका र उहाँका आमाबुबाको उद्धार गरिएको कथा सुनाए ।

पछिल्लो समय नेपाली परम्परा, संस्कृति र पहिचान भन्दा फरक संस्कृति आउन खोजेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष ओलीले गुरुलाई नमान्ने, आदर भाव नदेखाउने, आमा–बुबालाई हेला गर्ने कुरा यदाकदा सुनिन थालेकामा दु:ख व्यक्त गरे ।

अहिले पनि समाजमा नराम्रो मात्र नभइ राम्रो परम्परा र संस्कार रहेको भनाइ उनको छ ।