
काठमाडौं, १८ असार । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले दलितमाथि विभेद गर्नेलाई कारबाहीको प्रक्रिया अघि बढाई जानकारी गराउन सरकारलाई निर्देशन दिएकी छिन् ।
आज सोमबार बसेको राष्ट्रिय सभाको बैठकको सुरुमै दलितमाथि हुने विभेद बढ्दै गएको भन्दै सांसदहरुले उठेर विरोध जनाएपछि बैठकको अध्यक्षता गरेकी उपाध्यक्ष अर्यालले दलितमाथि विभेद गर्नेलाई छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएकी हुन् ।
त्यसअघि बैठकमा राष्ट्रियसभा सदस्य राधेश्याम पासवानले सिराहाको भगवानपुरमा सामूहिक भोजमा दलितमाथि भएको विभेदका बिषयमा पटक पटक कुरा राख्दा पनि दोषीलाई कारबाही हुन नसकेको भन्दै आपत्ति जनाएका थिएए ।
त्यसैगरी, उनले दाङको तुलसीपुरमा दलित विद्यार्थीको जात थाहा पाएपछि घरबेटीले घर निकाला गरेको, सप्तरीमा अन्तरजातीय विवाह गर्दा मुद्दा चलाएकोलगायतका घटनाले दलितमाथि अपमान भएको भन्दै उक्त घटनामा पनि दोषीलाई कारबाही हुन नसकेको गुनासो गरे ।
उनले दोषीलाई कारबाही नगर्ने र कानूनलाई पालना नगराउने प्रहरी र सिडिओलाई नै कारबाही गर्नुपर्ने माग गरे ।
यस विषयमा सांसदहरुले उठेर विरोध जनाएपछि राष्ट्रियसभा उपाध्यक्ष अर्यालले जवाफ दिन सरकारलाई रुलिङ समेत गरेकी छिन् ।













प्रतिक्रिया