
काठमाडौं, १७ असार । कोरियाबाट फर्किएका एकजना युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ठगिएको घटना बाहिरिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले एक्सन लिएका छन् ।
मन्त्री किराँतीले यो घटनाबाट आफू दुखि भएको बताउँदै उनलाई न्याय हुने र यस्ता घटना न्यूनीकरणका लागि आवश्यक कदम निर्ममतापूर्वक कार्यान्वयनमा ल्याउन लागिपर्ने प्रतिवद्वता व्यक्त गरेका छन् ।
असार १५ गते कोरियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका स्याङ्जाका छबिलाल भण्डारी उर्फ दामु दाई (ट्वीटर ह्याण्डल) ले आफ्नो प्रयोग भएको दुई मोबाइलको कर ४४ हजार १६९ तिरेका बिल सार्वजनिक गरेका थिए । विमानस्थल भन्सारले आइफोन १३ र आइफोन १२ (प्रयोग भएको) मोबाइलको करवापत सो रकम लिएको बिलमा उल्लेख गरिएको छ ।
जबकी सरकारले गत बैशाखमा विदेशबाट आउँदा दुईवटा सम्म मोबाइल ल्याउन पाउने निर्णय गरेको थियो । र यो निर्णय मन्त्रिपरिषद्बाट नै निर्णय भएर लागू भएको थियो।
यस्तै उनले आफ्नो लजेगको २५ प्रतिशत सामान विमानस्थलबाट हराएको र सोको रिपोर्ट गर्दा पनि विमानस्थल कार्यालयले ध्यान नदिएको बताएका थिए । ६ वर्षमा कोरिया बस्दा हरेक पटक रेमिट्यान्सबाट नेपालमा पैसा पठाएवाफत सरकारले आफूलाई यो सजाय दिएको उनले बताएका थिए
। ‘धन्यवाद नेपाल सरकार अनि त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट ! मैले ६ वर्ष कोरियामा कमाएको पैसा एकपटक पनि हुन्डी नगरी नेपाललाई रेमिट्यान्स पठाएको सम्मानस्वरूप २ ओटा मोबाइल ल्याएबापत ४४७३४ लिएको छ र मेरो लगेजमा ल्याएको सामानमध्ये २५ प्रतिशत सामान मेरो लगेजबाट हराएको छ र पटकपटक एयरपोर्ट जाँदा सीसी टीभी हेर्दिन आग्रह गर्दा राम्रो कुरासमेत नगरेको कुराले मजस्ता वैदेशिक रोजगारीमा गएका सम्पूर्ण नेपालीहरू अत्यन्तै दु:खी भएको र हुने कुरा सम्बन्धित ठाउँसम्म पुर्याइदिनु हुन हार्दिक अनुरोध गर्दछु।’ उनले ट्वीटरमा लेखेका छन् ।















प्रतिक्रिया