
काठमाडौं, १६ असार । नेकपा एमालेको भ्रातृ सङ्गठन अखिल नेपाल महिला संघ (अनेम संघ) टोखा नगरपालिका वडा नं ११ को दोस्रो अविधेशन सम्पन्न भएको छ ।
अनेम संघकी केन्द्रीय सदस्य एवम् नगर इञ्चार्ज ज्ञानुमाया डंगोलको प्रमुख आतिथ्यता र वडा कमिटीकी अध्यक्ष भावना गौतम ज्ञवालीको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनबाट आगामी एक वर्षका लागि राधा ढकालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कमिटी गठन गरिएको निवर्तमान अध्यक्ष भावना गौतमले जानकारी दिइन् ।
अधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि अनेम संघकी केन्द्रीय सदस्य डंगोलले महिला आन्दोलनलाई यहाँसम्म ल्याउन संघर्ष गरेका अग्रजहरूको स्मरण गर्दै संविधानले निर्दिष्ट गरेका महिला अधिकार सुनिश्चित गर्न अझै संघर्ष गनुपर्ने आवश्यकता रहेको बताइन् । देशको जनसंख्याको आधा हिस्सा अेगटेका महिलाहरूको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक विकास गरेर नेतृत्व तहमा नपुग्दासम्म देशको समग्र विकास हुन नसक्ने धारणा उनले व्यक्त गरिन् ।

महिलाहरू काम कर्तव्य र अधिकारप्रति सजग हुँदै टोल कमिटी गठन र सदस्यता नवीकरण तथा विस्तार गर्नुपर्नेमा केन्द्रीय सदस्य डंगोलले जोड दिइन् । यस्तै, उनले वडामा विद्यमान सबै प्रकारका हिंसा अन्त्य, बालश्रममुक्त र ज्येष्ठ नागरिकको सम्मान गदै सभ्य समाज निर्माणमा अनेम संघले अग्रणी भूमिका खेल्नुपर्ने बताएकी छिन् ।
यसैगरी, अधिवेशनलाई सम्बोधन गर्दै प्रदेश सांसद अमन मास्केले नेपालका हरेक राजनीतिक आन्दोलनमा महिलाहरूको महत्वपूर्ण भूमिका रहेको बताउँदै महिलाहरूको भूमिकालाई नजरअन्दाज गरेर अगाडि बढ्न नसकिने बताए । मास्केले नेकपा एमालेको शाख राख्न र पार्टीलाई अगाडि बढाउन अनेमसंघको अहम् भूमिका रहेको चर्चा गरे ।

यस्तै, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले महिलालाई आर्थिक रूपमा सशक्त बनाउन नगरपालिकाले विभिन्न शीर्षकमा बजेट विनियोजिन गरेको जानकारी दिदै योजना लिएर नगरपालिकामा आउन आग्रह गरे ।
अधिवेशनमा टोखा–११ का वडाध्यक्ष घनश्याम खड्काले टोखा ११ का महिला दिदीबहिनीलाई रोजगारसँग जोड्ने विषयमा आफू गम्भीर रहेको बताउँदै यस्ता कार्यक्रममा वडाको सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरे ।
अनेमसंघ प्रदेश सचिव शान्ता राई, जिल्ला सचिव भगवती गौतम, प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य दिपु पोखरेल, पार्टी जिल्ला सदस्य रामबाबु पाण्डे, भुमा गुरुङलगायतले अनेम संघमा आबद्ध महिलाहरूले आप्नो क्षमता अभिवृद्धि गर्दै समाज रूपान्तरणको दिशामा लाग्नुपर्नेमा जोड दिए ।













प्रतिक्रिया