
काठमाडौं, १६ असार । नेकपा एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले श्रमजीवी वर्गको हित र मुक्तिका लागि मार्क्सवादबाहके अरु कुनै उपयुक्त सिद्धान्त नभएको बताएका छन् ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालद्वारा हिजो शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले मार्क्सवादको विकल्प नभएकाले यसलाई सृजनात्मक ढङ्गले प्रयोग गर्दै अघि बढ्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा ‘जनताको बहुदलीय जनवाद (जबज) र राज्यको रूपान्तरण विषयमा पहिचानको मुद्दा लोकतन्त्रविरोधी हतियार बन्न नहुने’ कार्यपत्र प्रस्तुत गर्दै उनले जनताको बहुदलीय जनवाद जननेता मदन भण्डारीले नेपाली समाजलाई दिएको महत्वपूर्ण उपहार भएको बताए । विश्व कम्युनिष्ट आन्दोलन सङ्कटमा परिरहेको समयमा जनताको बहुदलीय जनवादले नेपाली कम्युनिष्ट आन्दोलनलाई मार्गदर्शन गरेको धारणा उनको छ । मार्क्सवादको सान्दर्भिकता आज पनि छ भन्ने मान्यतामा जबजको प्रतिपादन भएको ज्ञवालीले स्पष्ट गरे ।
‘श्रमजीवी वर्गको हित र मुक्तिका लागि मार्क्सवादबाहेक अर्को कुनै सिद्धान्त छ्रन र मार्क्सवादलाई सृजनात्मक ढङ्गले प्रयोग गर्दा यसको सान्दर्भिकता आज पनि छ भन्ने मान्यतामा जबजको प्रतिपादन भएको हो,’ उनले भने ।
यस्तै, उनले संवैधानिक राजतन्त्रलाई सिद्धान्तका रूपमा आत्मसात गरेको नेपाली कांग्रेसलाई सामाजिक न्याय र गणतन्त्रको पक्षमा ल्याउन र बन्दुकको नालबाट मात्र राज्यसत्ता प्राप्त गर्न सकिन्छ भनि सशस्त्र सङ्घर्षमा रहेको माओवादीलाई शान्तिपूर्ण बाटोबाट, जनताको अभिमतबाट राज्यसत्तामा पुग्न सकिन्छ भन्ने विश्वास सृजना हुनुमा जबजको सफलता भएको बताएका छन् ।
उनले समाजवाद उन्मुख संविधान निर्माणका लागि वैचारिक मार्गदर्शन गर्ना साथै जबजले राष्ट्रिय राजनीतिलाई सही बाटोमा हिँडाउने काम गरेको बताए । जबजले सामाजिक न्यायसहितको लोकतन्त्रको पैरवी गर्ने भनाइ नेता ज्ञवालीको छ । ‘हामी सबैखालमा सामाजिक विभेद अन्त्य गर्न चाहन्छौँ, सँगसँगै वर्गीय विभेद अन्त्य गर्न चाहन्छौं, त्यसका लागि समाजवादी अर्थ व्यवस्थाको जरूरी छ,’ यसैगरी, उनले कार्यवाहक महासचिव ज्ञवालीले भने ।

उनले पहिचानको प्रश्नलाई स्वाभाविक र सकारात्मक लिनुपर्ने भन्दै त्यो पहिचानको मुद्दा लोकतन्त्रविरोधी हतियार बन्न नहुनेतर्फ सचेत गराए । कोशी प्रदेश नामाकरणका सन्दर्भमा उपमहासचिव ज्ञवालीले भने, ‘प्रदेश सभाका ९१ प्रतिशत सदस्य जो जनताका वैधानिक प्रतिनिधि हुन् उनीहरूको निर्णयप्रतिको असन्तुष्टीलाई लिएर हिंसा र अतिवादको पक्षमा जानुहुँदैन ।’
आउँदा दिनमा प्रदेश सभामा दुईतिहाइ ल्याएर नाम परिवर्तनमा गएँ भन्ने बाटो संविधानमा रहेको भनाइ उनको छ ।
कार्यक्रममा नेकपा एमालेस्थायी कमिटीका सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले लोकतान्त्रिक आदिवासी महासंघ, नेपालको सांगठानिक कार्ययोजनाका सम्बन्धमा मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै, नेकपा एमालेका पोलिटव्युरो सदस्य गोकुल घर्तीले नेपालको कम्युनिष्ट आन्दोलन र आदिवासी जनजाति आन्दोलनको अन्तरसम्बन्ध विषयमा कार्यपत्र प्रस्तुत गर्दै आदिवासी जनजातिको पहिचान र अधिकारका सन्दर्भमा प्राप्त उपलब्धिहरू नेकपा एमाले र यसका नेताहरू सरकारमा रहेको समयमा भएका पहलकदमीका उपलब्धि भएको बताए । नेपालको कम्युनिष्ट आन्दोलन र जनजाति आन्दोलनबीच घनिष्ट सम्बन्ध रहेको उनको भनाइ थियो ।
कार्यक्रममा डा. मुक्तसिं लामाले कार्यपत्रमाथि टिप्पणी गरेका थिए भने ‘जननेता’ मदन भण्डारीको ७२औं जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीको अध्यक्षता महासंघका अध्यक्ष पासाङ शेर्पाले गरेका थिए ।
कार्यक्रममा जननेता मदन भण्डारीको तस्वीरमा माल्यार्पण गरिनुका साथै नेपालको कम्युनिष्ट आन्दोलनमा जननेता भण्डारीको योगदानको चर्चा गरिएको थियो ।













प्रतिक्रिया