
पाल्पा, १४ असार । नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्यालले नेकपा माओवादीलाई नेकपा एमाले र नेपाली कांग्रेसले पानी छर्केर बचाइरहेको बताएकी छिन् ।
तानसेनमा हिजो बुधबार आयोजित एमाले पाल्पाको बैठकलई सम्बोधन गर्दै उनले २०७४ सालमा एमालेले पानी छर्केर माओवादीलाई बचाएको र २०७९ को निर्वाचनमा कांग्रेसले पानी खुवाएर प्राण बचाइदिएको बताएकी हुन् ।
अहिले समाजवादी मोर्चाको नाममा प्रचण्डले सत्तामा टिकिरहने तिक्डम रचेको उनले आरोप लगाइन् । जसरी पनि सत्तामा बसिरहन पर्छ भन्ने मान्यताले मुलुकमा राजनीतिक अस्थिरता बढेको बताउँदै उनले नेपाल र नेपालीको हित भन्दा पनि कुर्सीमा बसिरहन कांग्रेस र माओवादी भारतसँग लम्पसार परेको बताइन् ।
उनले रवि लामिछानेको पार्टी हल्लाखल्ला गर्ने पार्टी भएको बताएकी छिन् । ‘कुनै नीति, सिद्धान्त र विचारविना जन्मिएको पार्टी स्वतन्त्र पार्टी हो,’ उनले भनिन्, ‘जसरी विषादीले हर्लक्क बढेको विरुवा धेरै टिक्दैन् । त्यसरी नै यो पार्टी धेरै समय टिक्दैन । तर केही समय एमालेलाई दु:खचाहिँ दिने भयो ।’
कतिपय नेताले राजनीति पद, प्रतिष्ठा, लाभ र पहुँचको निम्ति मात्रै गरेका छन् । पार्टीको लक्ष्य, उद्देश्य भुल्ने गरेका छन् । आफूलाई मात्रै हेरेर राजनीति गर्ने प्रवृत्ति बढेको छ । मुलुकमा नेता धेरै भए । मेरो चाकडी गर्न पर्छ भन्ने नेताको सोच भयो । जनताको घरमा जानुपर्ने बेला कार्यकर्ता नेताको घरमा जान थाले । उल्टो बाटो हिँड्दा पार्टी बलियो नहुने अर्यालको भनाए छ ।
एमालेले राम्रो काम गरेकै कारण अहिले घेराबन्दीमा परिरहेको अर्यालले बताइन् । ‘हाम्रो पार्टीले गरेका राम्रा कामबारे जनतालाई बुझाउन नसक्दा मुलुक अप्ठ्यारोमा परेको छ । अब भुइँ तहमा रहेका वर्गसँग जोडिएर एमालेका नेता तथा कार्यकर्ताले काम गर्ने बेला आएको छ,’ उनले सुनाइन् ।
हिजो भुइँ मान्छेको साथले राजनीतिमा सफलता पाएका नेताले तीनै वर्गलाई भुल्दा अहिलेको परिस्थिति सृर्जना भएको उनको भनाइ छ । अब पार्टीले केन्द्रदेखि टोलसम्म वार्षिक कार्ययोजना बनाउँदा भुइँ मान्छे र मध्यम वर्गीयको माग र आवश्यकतालई ख्याल गर्नुपर्ने सुझाव उनको छ । नेता होइन जनतासँग जोडिएर काम गर्न सचिव अर्यालले आग्रह गरिन् ।
‘अब एमाले पार्टीको भविष्य भनेको युवा नै हुन् । हिँजो बुढा मानिस खोज्लुपर्ने बाध्यता थियो । अहिले ठिटा खोज्नुपर्ने अवस्था आएको छ । युवालाई नेतृत्वमा ल्याउने गरी पार्टीले आफ्ना गतिविधि अगाडि बढाउनुपर्छ,’ उनले भनिन्, ‘एउटा वडामा कम्तीमा १० जना युवालाई पार्टीमा आकर्षण गर्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’ पार्टी अब नयाँ पुस्तामा पुग्नुपर्नेमा उनको जोड छ ।













प्रतिक्रिया