
काठमाडौं, १२ असार । ललितानिवास प्रकरण नेपालमा भएका ठूला भ्रष्टाचार प्रकरणमध्येको एक हो ।
यसमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, माधवकुमार नेपाल, पूर्वमन्त्री, अख्तियारका पूर्वप्रमुख आयुक्तदेखि उच्चपदस्थ कर्मचारीहरु मुछिएका छन् ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पालमा बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा ११० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।
तत्कालीन प्रहरी महानिरीक्षक खनाल नेतृत्वमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान सकेर गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनको कार्यान्यवन अहिले सुरू हुन थालेको छ ।
ललितानिवासको ११२ रोपनी जग्गा गैरकानुनीरुपमा व्यक्तिको नाममा दर्ता गर्ने प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका पूर्वअरिदार गोपाल कार्की, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भूपेन्द्रमणि केसी आज पक्राउ परेका छन् ।
ब्यूरोले अनुसन्धान सकेर तत्कालीन प्रहरी महानिरीक्षक खनालले गृहमन्त्रालयमा बुझाएको प्रतिवेदनमा १०० जना भन्दा बढी व्यक्तिलाई मुद्दा चलाउन राय दिएका थिए ।
सर्वेन्द्र खनाल अवकाश भएपछि ललिता निवास प्रकरणको छानविन प्रतिवेदन थन्क्याएर राखिएको थियो । प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएपछि सार्वजनिक मञ्चहरुमा खनालले ललितानिवास प्रकरण छानबिन रोकिएकोप्रति आक्रोश पोखेका थिए । सो प्रकरण छानबिनका लागि जोडदार माग समेत उनले गर्दै आएका थिए ।
प्रहरी अनुसन्धान व्यूरोले ललिता निवास जग्गा अनियमितताका बारेमा फेरि अनुसन्धान सुरू गरेको छ । प्रहरीले हिम्मत गरेर राजनीतिक दबाब र प्रभावमा नपरे यो प्रकरणमा उच्च राजनीतिक तहदेखि उच्च प्रशासकहरु गरी एक सय भन्दा बढीलाई मुद्दा चल्ने निश्चित छ ।














प्रतिक्रिया