
नवलपरासी, १२ असार । पश्चिम नवलपरासीका उद्योगी व्यवसायीले बैंकको व्याजदर एकल अङ्कमा झार्न माग गरेका छन् ।
चर्काे व्याजदरका कारण व्यवसाय नै धरासायी भएको भन्दै व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरूले एकतर्फी चर्काे दरमा व्याज बढाउँदा समस्या भएको गुनासो गरेका हुन् ।
बैंकको चर्काे व्याजदर र समाधानको विषयमा आज जिल्ला समन्वय समिति पश्चिम नवलपरासीले परासीमा गरेको सरोकारवालाहरूसँगको छलफल कार्यक्रममा सहभागी व्यवसायीहरूले वर्तमान विषम परिस्थितिमा पनि बैंक तथा वित्तीय संस्थाहरूले व्याजदर नघटाउँदा सडकमै उत्रनुपर्ने अवस्था आएको बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गुणनिधि तिवारीले बैंकको चर्काे व्याजदर र करमा वृद्धि हुँदा उद्योगी व्यवसायी हतोत्साही भएको बताए । उनले चर्काे व्याजदरकै कारण व्यवसायी आत्महत्या गर्ने स्थितिमा पुगेको भन्दै चिन्ता व्यक्त गरे । सरकार र नेपाल राष्ट बैंकबीच समन्वय नहुँदा व्यवसायी चेपुवामा परेको तिवारीको दाबी थियो । उद्योग व्यवसाय क्षेत्रलाई संरक्षण गर्ने राज्यको स्पष्ट र स्थायी नीति नहुँदा निजी क्षेत्र मारमा परेको बताउँदै उनले व्यवसायीको संरक्षण हुन नसके बैंक पनि नरहने जिकिर गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारीले पछिल्लो समय बैंकमा रकम थुप्रिरहेको तर पनि व्याज नघट्दा व्यवसायी सङ्कटमा परेको बताए । अर्थतन्त्र चलायमान बनाउन सरकारले पहलकदमी नलिनु विडम्बना भएको बताउँदै भण्डारीले पुँजीगत खर्च बढाउन सरकारको ध्यानाकर्षण गराए । व्याजदर एकल अङ्कमा नझेरसम्म व्यवसाय फस्टाउन नसक्ने उनको भनाइ थियो ।
आर्थिक मन्दीका कारण व्यवसाय बन्द गर्नुपर्ने अवस्था, बैंकको चर्काे व्याजदर र ऋण तिर्न हम्मेहम्मे भईरहेको सन्दर्भमा आफूसँग भएको जग्गा जमिन बेचेरै ऋण तिर्न खोज्दा पनि सरकारले कित्ताकाट नखुलाउँदा समस्या भएको केन्द्रीय सदस्य भण्डारीले उल्लेख गरे । यस किसिमको अराजकता बढ्दै गए बैंकमा ताला लगाउने स्थिति आउने भन्दै उनले तत्काल निकास निकाल्न ध्यानाकर्षण गराए ।
नवलपरासी उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष ओमप्रकाश अग्रहरिले बैंक मोटाइरहने, व्यवसायी दुब्लाइरहने प्रवृत्तिको अन्त्य हुनुपर्ने माग गरे । बैंक तथा वित्तीय संस्थाहरूले लिँदै आएको व्याजदर तत्काल एक अङ्कमा झार्न माग गर्दै अग्रहरिले यही कारण उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको बताए । सरकारले पछिल्लो पटक करमा समेत वृद्धि गर्दा उद्योगी व्यवसायी थप मारमा परेको उनले बताए ।
सुनवल उद्योग वाणज्य संघका अध्यक्ष रमेश कर्माचार्यले आर्थिक मन्दी र चर्काे व्याजदरका कारण प्रताडित व्यवसायीलाई बैंकहरूले थप मानसिक तनाव दिइरहेको बताए । बैंकले दिने टर्चरका कारण व्यवसायी आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै उनले अफ्ठ्यारोमा पारेर व्यवसायीलाई पोस्ने काम बन्द गर्न माग गरे । साना तथा मझौला व्यवसायीलाई प्रोत्साहन गर्दै घरभाडाको उचित दर कायमका लागि पहल गर्न पनि उनले जोड दिए ।
यस्तै, पेटोलियम डिलर्स एसोसिएसन लुम्बिनी प्रदेशका संयोजक प्रेम न्यौपानेले व्याजदर घट्दा बैंकहरूले बेस रेट नघटाएको भन्दै असन्तुष्टि व्यक्त गरे । जसरी पनि व्यवसायीलाई पोस्ने बैंकहरूको नीति देखिएको बताउँदै न्यौपानेले नेपाल राष्ट बैंकले नियमन गर्नुपर्नेमा जोड दिए ।
मन्दीको फाइदा उठाउँदै व्यवसायीलाई अफ्ठ्यारो पारेर असुली गर्ने बैंकहरूको नीति देखिएको भन्दै नवलपरासी चेम्बर अफ कमर्शका उपाध्यक्ष रामचन्द्र भण्डारीले आक्रोश पोखे । उनले व्यवसाय चलायमान बनाउने वातावरण बनाउन र व्यवसायीलाई संरक्षण गर्ने कार्यक्रम ल्याउन स्थानीय सरकारको पनि ध्यानाकर्षण गराए ।
पेटोलियम डिलर्स एसोसियसनका जिल्ला प्रतिनिधि राजेश कुमार गुप्ताले एकल अङ्कमा व्याजदर नझारेसम्म व्यवसाय नफस्टाउने बताउँदै व्यवसायीसँग लुट्ने नीति बन्द गर्न जोड दिए । वर्तमान समयमा बैंक, वित्तीय संस्था, व्यवसायी कसैसँग पनि पैसा छैन भने पैसा कहाँ गयो भन्दै उनले प्रश्न गरे । नवलपरासी चेम्बर अफ कमर्शका सदस्य राधेश्याम अग्रहरिले व्याजदर घटाउन नेपाल राष्ट बैंकलाई दबाब दिनुपर्ने बताए ।
नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिंह सैथवारले पैसा छैन भन्दै सबै पन्छिने हो भने पैसा यथार्थमा कहाँ गएको हो अनुसन्धान गर्नुपर्नेमा जोड दिए । उपभोक्ता हित संरक्षण मञ्च रामग्राम नगर अध्यक्ष नरेन्द्र भट्टराईले अर्थतन्त्र चलायमान बनाउन सबै निकायले पहल गर्नुपर्नेमा जोड दिए ।
परासी बैंकर्स संघका अध्यक्ष ढिल्लीराज खनालले बैंकहरूमा पैसा थुप्रिन थालेकाले अब विस्तारै सहज हुँदै जाने बताए । उनले बैंकहरू नेपाल राष्ट बैंकको नीति निर्देशनमा चल्ने गरेको बताउँदै व्याजदर नियन्त्रणका लागि सरकार र राष्ट्र बैंकलाई नै घच्घच्याउन आग्रह गरे ।
ऋणीसँगै बैंकमा बचत गर्ने सर्वसाधरणको रकम सुरक्षा गर्ने जिम्मेवारी पनि बैंकको रहेकोले व्यवसायीले एकतर्फी सोच्न नहुने उनको तर्क थियो । देशको आर्थिक अवस्था, तरलता, माग र आपूर्ति तथा बजारको अवस्थाले गर्दा व्याजदर सँधै समान नहुने उनको भनाइ थियो ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले चर्काे व्याजदरका कारण व्यवसायी मारमा परेकोले यसको समाधानका लागि जिल्ला समन्वय समितिले जिल्लास्थित बैंक, निजी क्षेत्र तथा सरकारका प्रतिनिधिबीच सहजीकरण गरेको बताए ।
उनले जिल्ला समन्वय समिति महासंघ, नगरपालिका महासंघ, गाउँपालिका महासंघ तथा नेपाल उद्योग वाणिज्य महासंघमार्फत सरकारलाई ध्यानाकर्षण गराउने गरी सबै पक्ष लाग्ने निर्णय गरिएको जानकारी दिए ।
उक्त अवसरमा रामग्राम नगरपालिकाका मेयर धनपत यादव, पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले चर्काे व्याजदरका कारण व्यवसायी तथा आम सर्वसाधारणसमेत मर्कामा परेको बताउँदै ऋणीको समस्या बुझ्दिन आग्रह गरे ।













प्रतिक्रिया