२९ आश्विन २०८३, बिहिबार

विद्यार्थीहरू विदेशिने क्रम रोक्नेगरी कार्यक्रम बनाउन त्रिविलाई प्रधानमन्त्रीको आग्रह

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थीलाई रुचिअनुसारका विषयहरुमा उच्च शिक्षा अध्ययन गर्न पाउने कार्यक्रमहरू ल्याउन त्रिभुवन विश्वविद्यालय (त्रिवि)लाई आग्रह गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय सभाको ६४औँ वार्षिक दिवस बैठकलाई आज मंगलबार कीर्तिपुरमा सम्बोधन गर्दै उच्च शिक्षाका लागि विद्यार्थीहरू विदेशिने क्रम रोक्नका लागि रुचिअनुसारका विषयहरुमा उच्च शिक्षा अध्ययन गर्न पाउने कार्यक्रमहरु ल्याउन आग्रह गरेका हुन् ।

विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै उनले शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन समेत दिएका छन् । प्रधानमन्त्री प्रचण्डले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीहरुको आधारभूत दायित्व भएको समेत बताए ।

त्रिभुवन विश्वविद्यालयका तत्कालका समस्या पहिचान गरी यथासम्भव समाधान गर्ने प्रयत्न गरिरहेको उनले बताए । विश्वविद्यालयको उन्नति र विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनाहरू बनाई अगाडि बढ्नु अत्यावश्यक रहेको भन्दै उनले विश्वविद्यालयबाट पेस हुने उपर्युक्त योजना र कार्यक्रममा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले मुलुकको संघीय शासन प्रणालीअनुसार उच्च शिक्षाको पुन:संरचनामा पनि विश्वविद्यालयले अग्रणी नेतृत्व लिन अपिल गरेका छन् ।