
काठमाडौं, १२ असार । सत्तारूढ नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बन्दै गएको छ । सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समितिको बैठक टार्दै आएका बेला केन्द्रीय सदस्य मधु आचार्यले बैठकको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका छन् । पार्टीको विधानले नचिन्ने पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमार्फत निर्णय लिँदै आएको कांग्रेसले मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समीक्षाका लागि समेत अहिलेसम्म बैठक बोलाएको छैन ।
राष्ट्रपति निर्वाचनपछि मात्र बस्ने भन्दै यसअघि बोलाइएको बैठक पनि कांग्रेसले सारेको थियो । राष्ट्रपति निर्वाचन सम्पन्न भएर चुनावपछि भत्केको गठबन्धन फेरि पुरानो ठाउँमा आएको छ । तर कांग्रेस केन्द्रीय समितिको बैठक ११ महिनादेखि बस्न सकेको छैन । विधानतः हरेक दुई महिनामा केन्द्रीय समितिको बैठक बस्नुपर्ने व्यवस्था छ । तर बैठक बोलाउन सभापति देउवाले मात्र होइन, कांग्रेसका अन्य नेताहरूले पनि खासै रुचि देखाएका छैनन् । केही आवश्यक निर्णय लिनुपरे कार्यसम्पादन समितिमार्फत गर्ने गरिएको छ । कार्यसम्पादन समितिको निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था विधानमा छ ।
त्यति मात्र होइन, महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्ने व्यवस्था विधानले गरेको छ । तर कांग्रेसले अहिलेसम्म पार्टीको केन्द्रीय कोषाध्यक्षसमेत मनोनीत गर्न सकेको छैन भने केन्द्रीय समितिले पनि पूर्णता पाएको छैन । विभागहरूको अवस्था अहिले पनि लथालिंग छ । उपसभापति नेतृत्वमा प्रशिक्षण र प्रतिष्ठान विभागका साथै प्रचार विभागबाहेक अन्य गठन हुन सकेको छैन ।
पार्टीका भ्रातृ संगठनहरूको अवस्था उस्तै छ । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलसहितका भ्रातृ संगठनहरूलाई केही दिनअघि पूर्णता दिने सभापति देउवाले तयारी गरेका थिए । तर पार्टीभित्रको इतर पक्षसँग सहमति जुट्न नसक्दा नेपाल महिला संघको केन्द्रीय समिति गठन भए पनि अन्य भ्रातृ संगठनका केन्द्रीय समिति अपूर्ण छन् । सोही समयमा केन्द्रीय सदस्य आचार्यले पार्टीको बैठक बोलाउन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका छन् । कांग्रेस केन्द्रीय समितिको बैठक साउनको पहिलो सातापछि बसेको छैन । आजको नागरिक दैनिकमा खबर छ ।













प्रतिक्रिया