
काठमाडौं, ११ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक भएयता बाटो छलेर हिड्नुपर्ने अवस्था सृजना भएको बताएका छन् ।
आज सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित हुन गएको र बजेटकै कारण बाटो छलेर हिड्नुपर्ने अवस्था आएको बताएका हुन् । बजेटबाट सांसदहरुलाई खुशी बनाउन नसकेको भन्दै मन्त्री किराँतीले बाटो छलेर हिँड्नुपर्ने स्थिति रहेको बताएका छन् ।
उनले बजेट असन्तुलित भएकोमा सांसदहरूसँग माफी माग्दै बजेटको सिलिङ कम भएका कारण सांसदहरुले दिएका धेरै योजनाहरु समेट्न नसकेको बताएका छन् ।
उनले मन्त्री किरातीले सकभर देशभर सञ्चालन हुनेगरी बढीभन्दा बढी साना–साना बजेटका कार्यक्रमहरु समावेश गरिएको बताए । त्यस्तै प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्वपूर्ण सांस्कृतिक, धार्मिक एवम् पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन पुर्वाधार विकास गर्ने गरी बजेट व्यवस्था गरिएको उनले उल्लेख गरेका छन् ।
‘सदाझैँ यसपालि मन्त्रालयको सिलिङ बजेटको व्यवस्था भएन । हाम्रो मन्त्रालयमा जिरो थियो सिलिङ बजेट । पुरातत्व विभाग र पर्यटन विभागमाथि हामी भर पर्नु पर्यो । धरै योजनाहरु अटाउनै सकिएन। सबैको चित्त प्रशन्न बनाउनै सकिएन । बाटो छोडेर, छलेर हिँड्नुपर्ने स्थिति छ मन्त्रीको । स्वाभाविक रुपमा बजेट असन्तुलन हुन गएको छ । त्यसको निम्ति यो सम्मानित सदनमा म क्षमाप्रार्थि छु,’ मन्त्री किराँतीले भने ।













प्रतिक्रिया