२९ आश्विन २०८३, बिहिबार

बालेनविरुद्ध उत्रिदै फुटपाथ व्यवसायी, नगर प्रहरीविरुद्ध युवा टीम तयार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । उद्योग व्यापार सहकार्य महासंघमा आवद्ध राष्ट्रिय स्वरोजगार व्यवसायी संघका व्यवसायीहरुले काठमाडौं महानगरविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।

आज आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले महानगरले हालसम्म पनि फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन नगरेको भन्दै आन्दोलनमा उत्रिन लागेको बताएका हुन् ।

काठमाडौं महानगरकै इतिहासमा महानगर प्रमुख बालेन्द्र साह सबैभन्दा झुटो मेयर भएको उनीहरुको आरोप छ । बालेन गरिबहरुको सहानुभूतिबाट चुनाव जितेर पुँजीपति वर्गको सेवा र सामन्तवादीहरुको पक्षपोषणमा लागेको राष्ट्रिय स्वरोजगार व्यवसायी संघको आरोप छ ।

आफूहरुसँग महानगर र सरकारले पटक–पटक गरेको सम्झौता कार्यान्वयनमा ल्याएर गरिखाने वातावरण निर्माण गरिदिन उनीहरुले माग गरेका छन् । आफूहरुमा माग सम्बोधन नभएको खण्डमा कडा आन्दोलन छेड्ने उनीहरुको चेतावनी छ ।

बालेनले पीडामा पिल्सिएकाहरुलाई मात्र पीड दिएको र उनीमा सामन्ती शैली देखिएको राष्ट्रिय स्वरोजगार व्यवसायी संघको बुझाइ छ ।

राष्ट्रिय स्वरोजगार व्यवसायी संघले आगामी असार ११ गतेदेखि १५ गतेसम्म सम्पूर्ण राजनीतिक दलको कार्यालयमा प्रेश विज्ञप्तिसहित छलफल गर्ने र असार २४ गतेदेखि व्यापारी श्रमिकहरुको सम्बन्धित संघ/संस्थाहरुमा अन्तरक्रिया कार्यक्रम गरी भावी आन्दोलनका लागि मोर्चा तयार गर्ने घोषणासमेत गरेको छ ।

राष्ट्रिय स्वरोजगार व्यवसायी संघका उपाध्यक्ष सुजन गिरीले व्यवसायीहरुको समूहबाट महानगरसँग प्रतिकारका लागि २ सय तीन सदस्यीय युवा टीम तयार भइसकेको बताए ।

‘हामी व्यवसायीको तर्फबाट युवा फोर्स तयार भइसकेको छ । संयोजक म आफैं छु । दुई सय तीन जनको टिम हामीले गठन गरेका छौँ । स्वयमसेवकहरुले अब व्यवसायीहरुका बीचबाट महानगरले लगेको सामन निगरानी गर्ने र महानगरले धरपकड गरेकै ठाउँमा खोसिनेछ,’ उनले भने ।