२९ आश्विन २०८३, बिहिबार

गौतमबुद्ध क्रिकेट रङ्गशालाको स्वामित्व ग्रहण गर्न सरकारले कति छुट्यायो बजेट ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । खेलकुदमन्त्री डिगबहादुर लिम्बुले धुर्मुस–सुन्तली फाउण्डेशनमार्फत चितवनमा निर्माण सुरू भइ अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्नका लागि १ लाख रुपैयाँ बिनियोजन गरिएको बताएका छन् ।

आज आइतबार प्रतिनिधि सभा बैठकमा आफ्ना मन्त्रालयमाथि बिनियोजित बजेटमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री लिम्बुले उक्त रंगशाला निर्माणको बाँकी काम पूरा गर्न सरकारले स्वामित्व ग्रहण गर्ने र त्यसपछि आवश्यक स्रोत जुटाएर रंगशालालाई सम्पन्न गर्ने बताएका हुन् ।

उनले एक स्थानीय तह एक खेलकुद पूर्वाधार कार्यक्रमअन्तर्गत १७० स्थानीय तहमा पूर्वाधार निर्माणका लागि बजेट बिनियोजन गरिएको जिकिर गरे । त्यस्तै, ७५३ वटै स्थानीय तहमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गर्न बजेटको व्यवस्था गरिएको उनको भनाइ छ ।

खेलाडीहरुको वृत्तिविकास गर्दै विभिन्न प्रतियोगितामा भाग लिने वातावरण बनाउने मन्त्री लिम्बुले बताए । चीनको होङझावमा सेप्टेम्वर २३ देखि अक्टुबर ८ सम्म हुने एशियाली खेलकुदका लागि २९ खेलका लागि २३३ खेलाडीहरुको बन्द प्रशिक्षण भइरहेको मन्त्री लिम्बुले जानकारी दिएका छन् ।

मन्त्री लिम्बुले राखेपलाई खेल क्षेत्रको बिकासका लागि जवाफदेही काम गर्ने गरि पूर्णरुपमा जिम्मेवारी दिने र खेलको पूर्वाधार निर्माणका लागि मन्त्रालयले नै आवश्यक योजना बनाउने गरि काम अघि बढेको बताए ।