२९ आश्विन २०८३, बिहिबार

सत्तारुढ दलका नेताहरू भन्छन्– तत्काल सरकार परिवर्तनको सम्भावना छैन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । सत्तारुढ दलका नेताहरूले वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताएका छन् ।

आज शनिबार काठमाडौंमा भएको साक्षात्कार कार्यक्रममा उनीहरुले सरकार परिवर्तन हुने कुरा हल्लामात्रै भएको बताएका हुन् ।

साक्षात्कारमा नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यले तत्काल आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार नढल्ने दाबी गरे । उनले सरकार परिवर्तन हुने कुरा हल्लामात्रै भएको टिप्पणी गर्दै सरकार परिवर्तन हुने सम्भावना एक प्रतिशत पनि नभएको दाबी गरेका छन् । देशका विद्यमान सबैखाले समस्याको हल गर्न प्रमुख दलहरू गम्भीर हुनुपर्नेमा उनको जोड छ ।

त्यस्तै, कांग्रेसका नेता रामकृष्ण यादवले वर्तमान सरकार परिवर्तन गर्ने आफूहरुको कुनै तयारी र योजना नरहेको स्पष्ट पारे । उनले कांग्रेस एमालेसँग मिलेर सरकार बनाउन लागिपरेको भन्न्ने कुरामा कुनै सत्यता नभएको भन्दै त्यसलाई हल्लाका रुपमा मात्रै बुझिदिन आग्रह गरे ।

उनले अहिलेको संसद्को बनोटले पनि कुनै एक दलले सरकार चलाउने अवस्था नभएकाले आफूहरु गठबन्धनको कल्चरमा गएको स्पष्ट पारे ।

यसैगरी, नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले नेपालको इतिहासमा एउटै पार्टीले बहुमत ल्याएको भए पनि बहुमतको पार्टीेले देश निर्माण र अवधि पूरा गर्न नसकेपछि गठबन्धन र मोर्चाको आवश्यकता अनुभूत भएको बताए ।

पाण्डेले मुलुकको समृद्धिका निम्ती यो गठबन्धन बनाएको र अहिलेको गठबन्धनमा तलमाथि गरेको खण्डमा जनताले छुट नदिने उल्लेख गरे ।

कार्यक्रममा नेकपा (एमाले) का युवा नेता माधव ढुंगेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु कांग्रेस सभापति शेरबहादुर देउवाभित्र सत्ताको आकांक्षा नपलाउँदासम्म मात्रै भएको टिप्पणी गरे ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि एमालेले खेलेको भूमिका प्रतिउत्पादक बनेको उनको भनाइ छ । उनले नेपालको भूमिलाई भारतको नक्सामा कैद गर्दा पनि भारतसँग कुरा गर्न नसक्ने प्रधानमन्त्रीले देशको रक्षा गर्न नसक्ने बताउँदै सत्ता गठबन्धनको रुपान्तरण र परिवर्तनको आवश्यकता भएको दाबी गरेका छन् ।