२९ आश्विन २०८३, बिहिबार

मधेश प्रदेशमा एमालेको प्रचार भेला सम्पन्न, यस्तो छ योगेश भट्टराईको निर्देशन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, ९ असार । नेकपा एमाले मधेश प्रदेशको प्रदेशस्तरीय प्रचार भेला आज शनिबार सर्लाहीमा सम्पन्न भएको छ ।

भेलामा नेकपा एमालेका केन्द्रीय सचिव एवम् मधेश प्रदेशका इञ्चार्ज योगेश भट्टराईले पार्टी कामलाई सहजीकरण गर्न विभिन्न निर्देशन दिएका छन् ।

उनले पार्टी प्रचारको कामलाई व्यवस्थित बनाउन असार महिनाभरीमा मधेश प्रदेशका ८ वटै जिल्ला कमिटीले बैठक बसेर प्रचार विभागलाई पूर्णता दिनुपर्ने बताए । यसैगरी, असार महिनाभित्रै सबै जनसंगठनले बैठक बसेर आगामी एक वर्षको कार्ययोजना बुझाउनुपर्ने निर्देशन पनि उनले दिएका छन् ।

‘एमालेका सबै जिल्ला कमिटीले असार महिनाभित्र प्रचार विभागलाई पूर्णता दिएर बदलिएको सूचना प्रविधिमैत्री बनाउने गरी काम थाल्नुपर्नेछ, मधेश प्रदेशका सबै जनसंगठनले असारभित्र बैठक राखेर आगामी एक वर्षको कार्ययोजना प्रदेश कमिटी र मलाई दिनुहोला, आजको भेलाको यो निर्णय नै हो,’ उनले भने । अब काम गर्न अल्छी गर्नेहरुलाई पार्टीले विगतमा जस्तो सदासयता नराख्ने उनको भनाइ छ ।

उनले हरेक महिना सबै जनसंगठनको कामको प्रगतिसहित प्रतिवेदन माग्ने जनाउ पनि दिएका छन् । ‘अब साउनदेखि हरेक महिना सबै जनसंगठनदेखि पार्टी कमिटीसम्मको प्रगति प्रतिवेदन माग्छु, त्यसअनुसार काम गर्नुभएन भने जनसंगठनको हकमा केन्द्रीय अध्यक्षलाई जानकारी दिएर पदमुक्त गर्न भन्ने छु,’ सचिव भट्टराईले चेतावनी दिदै भने ।

उनले आजको दुनियामा चलेको फेसबुक, ट्वीटर, टिकटक जस्ता माध्यममा एमालेका सबै नेता कार्यकर्ता प्रखर बनेर उत्रनुपर्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मधेश प्रदेशमा प्रचारको संयोजक अरबिन्द सिंह, मधेश प्रदेशका अध्यक्ष रामअवतार यादव, केन्द्रीय प्रचार विभाग सचिव गगन बिष्ट र प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायत नेताहरुले प्रचारको कामलाई व्यवस्थित बनाउनका लागि विभिन्न सुझाव दिएका छन् ।

प्रचार शैलीदेखि आनीबानी र व्यवहारमा सुधार गर्न पनि उनीहरूले सुझाव दिएका छन् । कार्यक्रममा नेकपा एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनका प्रभावशाली नेता तथा पुराना पत्रकार शैलेन्द्र गुप्ता प्रेस चौतारीमा प्रवेश गरेका छन् ।