
काठमाडौं, ६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योग र ध्यानका बिषयलाई सरकारले प्राथमिक तहदेखि नै विश्व विद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्न लागिएको बताएका छन् ।
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले बुधबार काठमाडौंमा आयोजना गरेको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले योग र आध्यात्मिक चिन्तनको महत्वलाई स्थापीत गर्न सरकारले सबै तहका पाठ्यक्रममा योग र ध्यानका बिषयलाई समावेश गर्न लागेको बताएका हुन ।
उनले प्राकृतिक वातावरणको हिसाबले परिकल्पना गरेको योगमाया आयुर्वेद विश्वविद्यालयले आगामी दिनमा विश्वस्तरीय विश्वविद्यालयका रूपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्नुपर्नेमा पनि जोड दिए ।
प्रचण्डले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको धारणा पनि राखे ।
योगसम्बन्धी नेपालले गरिरहेको अभ्यासको विश्वव्यापीकरणमा पर्याप्त ध्यान दिएमा नेपालमा योग पर्यटनको विकास गर्न सकिने उनले बताए । संयुक्त राष्ट्रसङ्घको आह्वानअनुसार नेपालमा पनि अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो ।
राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ डिसेम्बर ११ मा दिवस मनाउने प्रस्ताव पारित भई सन् २०१५ जुन २१ तारिखदेखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।















प्रतिक्रिया