
काठमाडौं, ५ असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नेपाली प्रेस र बार एसोसिएसनको सक्रिय भूमिकाका कारण लामो समयदेखि न्यायालयमा रहेको नेतृत्वको अन्योल हटेको बताएका छन् ।
सर्वोच्च अदालत लामो समयदेखि कार्यवाहक प्रधानन्यायाधीशको नेतृत्वको भरमा चल्नुपरेको कारण न्यायिक काम कारबाहीलाई प्रभावित बनाएको उल्लेख गर्दै उनले अदालतको स्वतन्त्रतालाई जोगाइराख्न प्रेस जगतले अतुलनीय सक्रियता देखाएको भन्दै उच्च प्रशंसा गरे ।
प्रेस काउन्सिल नेपालको टोलीसँग आज मङगलबार उनले प्रेस जगत र बार एसोसिएसन प्रधानन्यायाधीश नियुक्तिका लागि नलडेको भए आजको दिन आउन मुस्किल पर्ने थियो भन्दै आफूले उक्त पक्षलाई कहिले भुल्न नसक्ने समेत बताए ।
‘मैले कानुन व्यवसाय गर्दा होस् या मानवाधिकारकर्मीका रुपमा काम गर्दा प्रेस र बारको अधिकारका लागि लडेको थिएँ । अहिले प्रेस र बारबाटै रिवार्ड पाएको छु,’ प्रधानन्यायाधीश कार्कीले भने, ‘मेरो छोटो कार्यकाल छ, तर पनि प्रेस स्वतन्त्रताका लागि अझै आफ्नो भूमिका आइपरे सोका लागि प्रतिबद्ध छु ।’
प्रधानन्यायाधीशको च्याम्बर सर्वोच्च अदालतमा भएको शुभकामना भेटघाट कार्यक्रममा कार्कीले छोटो समय भए पनि आफ्नो कार्याकालमा न्यायिक स्वच्छता कायम राख्न उल्लेखनीय कदम चाल्ने जानकारी दिए ।
न्यायालय अझै आर्थिक रूपमा स्वायत्त हुन नसकेको उल्लेख गर्दै प्रधानन्यायाधीश कार्कीले कुल राष्ट्रिय बजेटको एक प्रतिशत पनि छुट्टिन नसकेकोमा सबै पक्ष गम्भीर हुनुपर्ने बताए ।
‘यो पाटोलाई पनि अहिले न्यायालयको स्वतन्त्रताका लागि लड्ने पक्षहरूले विचार गर्नुपर्ने अवस्था आएको छ, कार्की भने, ‘कतिपय अदालतका भवनहरू पुराना र जीर्ण छन्, कतिपय अदालतहरू चल्नै नसक्ने अवस्थामा छन् । कतिपय अदालतमा भीडभाडको अवस्थामा पाकेटमारको समस्या छ । यसलाई व्यवस्थित गर्न पनि तपाहरूले आवाज उठाइदिनुपर्ने अवस्था छ ।’
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको नेतृत्वमा गएको टोलीमा बोर्ड सदस्यद्धय दीपक पाण्डे र ठाकुर प्रसाद वेल्वासे, काउन्सिलका कानुनी सल्लाहकार अधिवक्ता अनन्तराज लुइँटेल, काउन्सिलका निमित्त मुख्य अधिकृत दीपक खनालसहितको सहभागिता थियो ।
अध्यक्ष बस्नेतले स्वतन्त्र र सक्षम न्यायापलिकाबाट मात्र प्रेसको स्वतन्त्रता बच्ने उल्लेख गरे । उनले न्यायालयको स्वतन्त्रता न्यायाधीशका लागि नभई आम जनतालाई बलियो बनाउन र प्रणाली बसाउनका लागि भएकाले त्यसतर्फ दुवैं अङ्गका क्रियाकलाप केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे ।













प्रतिक्रिया