आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

प्रधानमन्त्री प्रचण्डलाई प्रश्न – कतिञ्जेल प्रतिगमनको खतरा देखाएर देश र जनताको शोषण गर्नुहुन्छ ?

कमल थापा २०८० असार ५ गते ९:१७

काठमाडौं, ५ असार । राजनीतिक दल वा नेताहरुले आपसमा एकता गर्ने, सहकार्य गर्ने वा मोर्चा बनाउने कार्य स्वभाविक अभ्यास हो । तर, आज घोषणा गरिएको ‘समाजवादी मोर्चा’का अधिकांश नेताहरु र खासगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले मोर्चाको गठन प्रतिगमन र प्रतिगामी शक्तिका विरुद्ध युद्धको घोषणा भएको उल्लेख गर्नुभयो । प्रतिगामी शक्ति भनेर उहाँले राजसंस्था र हिन्दुराष्ट्र पक्षधर एवं संघियता विरोधी शक्तिहरुलाई इंगित गर्नुभएको बुझ्न गाह्रो छैन ।

प्रधानमन्त्री प्रचण्डलाई मेरो प्रश्न – कतिञ्जेल प्रतिगमनको खतरा देखाएर देश र जनताको शोषण गर्नुहुन्छ ? देशलाई वर्तमान संकटको दलदलमा फसाउने काम १७ वर्ष अघि पाखा लगाईएका राजा वा राजसंस्थाबाट होइन ।

अहिले लोकतन्त्रको आवरणमा ब्रम्हलुट कायम छ, नेताहरुमा बिदेशीको सामु घुँडा टेक्ने आत्मसमर्पणवादी मानसिकता हावी भएको छ, विदेशीहरुको चलखेल र हस्तक्षेप बढेको छ, सनातन धर्म संस्कृति माथि निरन्तर आक्रमण जारी छ, अर्थतन्त्र संकटग्रस्त छ, देशभित्र रोजगारी नपाएर लाखौं युवाहरु बिदेश पलायन हुन बाध्य भएका छन् ।

यो अवस्थाको सिर्जना कसले गरेको हो ? राजा वा हिन्दुवादीहरुले हो ? वास्तवमा २०६३ सालको राजनीतिक परिवर्तनपछि आमुल परिवर्तनको नाममा अबलम्बन गरिएको अवधारणा र राष्ट्रनिर्माणको मार्गचित्र नै गलत थियो । देशले भोग्नु परेको रोग,भोक, अशिक्षा,गरिबी र पछ्यौटेपनको ‌मूलकारण राजसंस्था, हिन्दुराष्ट्र र एकात्मक राज्य प्रणाली दोषी हुन् भन्ने भाष्य नै गलत थियो ।

यस्ता त्रुटि र कमजोरीहरु सच्याएर देश र जनताको हितमा काम गर्नुको सट्टा अमुर्त र भ्रामक त्राश सिर्जना गर्नु हाल विद्यमान कुशासन, भ्रष्टाचार र अराजकतालाई निरन्तरता दिने चाहना र वहाना मात्र हो । यस अवस्थामा राष्ट्रियता र प्रजातन्त्रको संरक्षण, सनातन धर्म संस्कृतिको रक्षा एवं सुशासनको माध्यमबाट नेपाली जनताको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिहरुका बिचमा सहकार्य र एकता आजको आवश्यकता हो ।

प्रतिक्रिया
सम्बन्धित