२८ आश्विन २०८३, बुधबार

माछापुच्छ्रे बैंक र प्याब्सनबीच वित्तीय र डिजिटल साक्षरता पहलसम्बन्धी सम्झौता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच वित्तीय र डिजिटल साक्षरता पहलसम्बन्धी सम्झौता भएको छ ।

बैंकले आम जनमानसमा वित्तीय साक्षरता जगाउने उद्देश्यले प्याब्सनसँगको सहकार्यमा देशव्यापी रूपमा वित्तीय एवम् डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

आज सोमबार राजधानीको होटेल याक एण्ड यतीमा आयोजित एक औपचारिक कार्यक्रमका बीच उक्त सम्झौतामा हस्ताक्षर गरिएको बैंकले जनाएको छ । बैंकले जारी गरेको प्रेस विज्ञप्ति अनुसार सम्झौता माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवम् निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का तर्फबाट अध्यक्ष डीके ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले माछापुच्छ्रे बैंक र प्याब्सनको सहकार्यमा सञ्चालन हुने उक्त वित्तीय एवम् डिजिटल साक्षरता कार्यक्रममा आवश्यक परेको खण्डमा नेपाल राष्ट्र बैंकको तर्फबाट सहयोग प्रदान गर्ने बताए ।

यस्तै, उनले पछिल्लो समयमा ग्राहकवर्गमा चेतनाको कमी र सामान्य त्रुटीका कारण पनि ठूला ठूला वित्तीय अपराधहरु भइरहेकाले विद्यालय स्तरमा आयोजना हुने यस्ता कार्यक्रमहरुले विद्यार्थी मात्र नभएर उनिहरुका अभिभावकसम्म जनचेतना फैलाउन महत्वपूर्ण भूमिका निवार्ह गर्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी, माछापुच्छ्रे बैंकका अध्यक्ष एवम् गैरआवासीय संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विभिन्न तहका विद्यार्थीहरुको पाठ्यपुस्तकमा बैंकिङ्ग शिक्षासँग सम्बन्धित विभिन्न जानकारीहरु समावेश गर्न सकेको खण्डमा अझ उपर्युक्त हुने भन्दै यसका लागि पहल थालिनुपर्नेमा जोड दिए । उनले सैद्धान्तिक भन्दा पनि व्यावहारिक शिक्षामा जोड दिनुपर्ने आजको आवश्यकता रहेको बताए ।

सम्झौता पश्चात प्याब्सनसँगको सहकार्यमा अब बैंकले वित्तीय साक्षरता, डिजिटल अपराधबारे सचेतनामुलुक कार्यक्रमहरु देशव्यापी रूपमा सञ्चालन गर्नेछ भने प्याब्सनले आफूसँग आवद्ध शैक्षिक संस्थाहरूलाई समन्वय र सहजीकरण गर्नेछ ।