
संखुवासभा, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो प्रभावितको तत्काल उद्धार, राहत र पुन:स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा आज सङ्खुवासभा आएका प्रधानमन्त्री दाहालले युद्धस्तरमै प्रभावित नागरिकको व्यवस्थापनको काम भइरहेको बताएका हुन् ।
तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले बाढीपहिरोमा परी बेपत्ता भएकाको खोजी, प्रभावितको उद्धार र स्थानान्तरणका लागि मातहतका निकायले काम थालिसकेको जानकारी दिए ।
प्रधानमन्त्री दाहालले बाढीपहिरो प्रभावित र विस्थापितलाई पुन:स्थापना गर्ने, घरबारविहीनको तत्काल स्थानान्तरण र आवासको व्यवस्था मिलाइने तथा बाढीले बगाएका पक्की पुलमा तत्कालै ‘बेलिब्रिज’ राखेर आवतजावतलाई सहज बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बाढीपहिरो प्रभावित क्षेत्र अनुगमन गर्न प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ हेलिकोप्टरमार्फत सङ्खुवासभा आएका थिए ।
यस्तै, सांसद दीपक खड्का, योगेशकुमार भट्टराई, बसन्त नेम्वाङ र कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की पनि बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।
शनिबार राति वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाका विभिन्न स्थानका २१ जना बेपत्ता र एक जनाको मृत्यु भएको छ । बाढीमा परी चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेवा जलविद्युत् आयोजनाका १७ मजदुर बेपत्ता भएका छन् ।
उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया