२८ आश्विन २०८३, बुधबार

महिला शिक्षकले मागे पशुपति कन्या माविको नेतृत्व

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, ३ असार । छात्राहरू मात्र अध्ययन गर्ने दोलखाको एक मात्र विद्यालय पशुपति कन्यामन्दिर माविको नेतृत्व महिलाहरूकै हुनुपर्ने माग गरिएको छ ।

विद्यालयको प्रशासनिक नेतृत्व, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा शिक्षक कर्मचारी पूर्ण रूपमा महिला हुनुपर्ने भन्दै आज भीमेश्पर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धरको ध्यानाकर्षण गराइएको छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, महिला विभाग दोलखाको अगुवाइमा भीमेश्वर नगर प्रमुखलाई भेटी आफ्नो माग राखिएको ईञ्चार्ज लक्ष्मी भुजेलले जानकारी दिइन् ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, महिला विभाग भीमेश्वर नगर कमिटी दोलखाले महिला शिक्षकहरूलाई पायकपर्ने गरी पदस्थापन गरिनुपर्ने र रिक्त हुन आउने स्थानमा प्राथमिकतामा राखी सरुवा गर्नुपर्ने माग समेत यसमा राखिएको छ ।

नगर प्रमुख मानन्धरलाई १२ बुँदे माग राख्दै भीमेश्वर नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखा र शिक्षा विकास तथा समन्वय इकाई, दोलखाको ध्यानाकर्षण गराइएको हो ।

मागपत्रमा करार शिक्षक छनौट समितिमा महिला शिक्षकलाई विषय विज्ञको रूपमा प्राथमिकता दिनुपर्ने तथा विषयविज्ञको रूपमा शिक्षक सेवा आयोगले तोकेको मापदण्ड पालना गरिनुपर्ने, प्रारम्भिक बालविकास सहयोगी कार्यकर्ता, विद्यालय सहायक र विद्यालय सहयोगीको रोजगारी सुनिश्चित गरी समयसापेक्ष सेवा सुविधा बढाउनुपर्ने, कर्मचारी सञ्चयकोष तथा बीमाको व्यवस्था गरी पेशागत सुनिश्चित गरिनुपर्ने, विद्यार्थी सङ्ख्या तथा भौगोलिक दुरीका आधारमा दरबन्दी पुनर्वितरण गरी दरबन्दी मिलान यथाशीघ्र गरिनुपर्ने, विद्यालयमा स्तनपानकक्षको व्यवस्था गरिनुपर्ने छात्रामैत्री शौचालय, स्यानिटरी प्याड वितरण र विसर्जनकार्य स्वचालित भेण्डिङ मेसिनबाट व्यवस्थित गरिनुपर्ने जस्ता विषय समेटिएको छ ।

इन्चार्ज भुजेलका अनुसार अनुसार सुत्केरी सट्टा शिक्षकको सुविधा यसअघिको भीमेश्वर नगरले दिदै आएकोमा गतवर्षदेखि कटाइएकोमा नगरले निर्माण गरेको कार्यविधिका आधारमा बजेट व्यवस्थापन गरिनुपर्ने, विद्यालय नर्सको व्यवस्थापन थप मजबुत बनाइ अन्य विद्यालयमा समेत सेवा विस्तार गरिनुपर्ने, शिक्षा ऐन तथा नियमावलीका आधारमा प्रधानाध्यापक छनोट गरी कार्यसम्पादन करार सम्झौता गराइ नियुक्ति गर्नुपर्ने र महिला शिक्षकलाई प्राथमिकता दिइ प्रधानाध्यापक बनाउनुपर्ने, सङ्घीय सरकारले उपलब्ध गराएको दिवा खाजा रकम अति न्यून भएकाले कम्तीमा पनि शतप्रतिसत थप गरी दैनिक रु ३० पुर्‍याउनुपर्ने र प्रशिक्षक प्रशिक्षण, क्षमता विकास तालिम तथा अन्य नेतृत्त्व विकास तालिममा महिला शिक्षकलाई समावेश गरिनुपर्ने भन्दै ध्यानाकर्षण गराइएको हो ।

मागका विषयमा नगरप्रमुख मानन्धरले महिला शिक्षहरूले उठाएको विषयहरू जायज रहेको भन्दै क्रमश: सम्बोध गरिँदै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।