बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

एनआरएनए संस्थापन पक्ष र १०औँ महाधिवेशनमा असन्तुष्ट पक्षबीच एकताका लागि सहमति

दैनिक नेपाल २०८० असार ३ गते २२:०९

काठमाडौं, ३ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए)को संस्थापन पक्ष र १०औँ महाधिवेशनमा असन्तुष्ट भएको पक्षबीच आज आइतबार एकताका लागि सहमति भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा दुवै पक्षबीच एकता गर्ने सहमति भएको हो ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष आरके शर्मा र संस्थापन पक्षसँग असन्तुष्ट भएको समूहतर्फका विनोद कुँवर तथा दुवै पक्षबाट गठित उच्चस्तरीय वार्ता समितिका संयोजकहरु डीबी क्षेत्री र जानकी गुरुङबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

योसँगै आगामी अक्टोबरमा हुने ११औँ महाधिवेशन सहमति, सहकार्य र एकताको सन्देशसहित आयोजना हुने भएको छ । यसको लागि दुवै पक्षका प्रतिनिधिहरु रहने गरी एक उच्चस्तरीय अनुगमन समिति गठन गरिने छ ।

उक्त समितिले सदस्यता वितरण, महाधिवेशन प्रतिनिधि छनोट र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनको अनुगमन गर्नेछ । प्रधानमन्त्री दाहालले समृद्ध राष्ट्र निर्माण र मुलुकको हितको लागि एनआरएनबीच एकता आवश्यक रहेको भन्दै दुवै पक्षलाई सहमतिमा आएकोप्रति बधाई दिए ।

प्रतिक्रिया
सम्बन्धित