
काठमाडौं, ३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट सरकार सञ्चालन, भौतिक पूर्वाधार विकास र सामाजिक सेवालाई केन्द्रमा राखेर बन्नुपर्नेमा अन्तैतिर मोडिएको बताएका छन् ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज सात वटै प्रदेशका एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले सरकार सञ्चालन, भौतिक पूर्वाधार विकास र सामाजिक सेवालाई केन्द्रमा राखेर बन्नुपर्ने बजेट स्वार्थप्रेरित भइ मुख्यमन्त्री र अर्थमन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित गरेर दुरुपयोग गरिएको बताएका हुन् ।
बैठकमा अध्यक्ष ओलीले प्रदेश सरकारले ल्याएको बजेटलाई जनमुखी बनाउनका लागि दबाब सृजना गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । गठबन्धन सरकारले संघदेखि प्रदेशसम्म ल्याएको बजेट जनमुखी नभएकाले प्रतिपक्षी दलको हैसियतमा त्यसलाई परिमार्जन गर्नुपर्ने र त्यसका लागि दबाब सृजना गर्न उनले निर्देशन दिएका हुन् ।
बजेट छलफलमा भाग लिँदा विरोधका लागि विरोध नभई देशलाई नकारात्मक असर पार्ने कुराहरूलाई परिवर्तन गर्ने गरी उठाउन प्रदेशसभा सदस्यहरूलाई उनले आग्रह गरेका छन् । नेकपा एमाले प्रतिपक्षमा रहेको अवस्थामा पनि सही बजेट ल्याउनका लागि सहयोग गर्न निर्देशन दिँदै अध्यक्ष ओलीले भने, ‘सातै प्रदेशको प्रस्तुति सुन्दा कोशी प्रदेशबाहेक बजेट यथास्थितिमा पास गर्नलायक नरहेको देखिन्छ ।’
बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेशको बजेट समृद्ध प्रदेश निर्माण, दिगो विकास लक्ष्य हासिल गर्न र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा साकार पार्न सहयोग पुर्याउनेमा केन्द्रित रहेको जानकारी गराए । बजेटमा कृषि क्षेत्रको आधुनिकीकरण र विकास पहिलो प्राथमिकतामा राखेको र आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर पाँच दशमलव सात प्रतिशत हासिल गर्ने प्रक्षेपण गरिएको जानकारी मुख्यमन्त्री कार्कीले दिए ।
यसैगरी, बैठकमा प्रदेश संसदीय दलका नेताहरू सुदूरपश्चिमका राजेन्द्रसिंह रावल, कर्णालीका यामलाल कँडेल, लुम्बिनीका लिला गिरी, बागमतीका जगन्नाथ थपलिया, मधेशका सरोज यादव र गण्डकी प्रदेश संसदस्य दलका प्रमुख सचेतक गोविन्द नेपालीले प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटका बारेमा जानकारी गराएका थिए ।













प्रतिक्रिया