२८ आश्विन २०८३, बुधबार

नवौँ चुरे संरक्षण दिवस : ‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, ३ असार । विभिन्न कार्यक्रम गरेर उदयपुरमा नवौँ चुरे संरक्षण दिवस मनाइएको छ ।

‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने मुल नारासहित डिभिजन वन कार्यालय उदयपुरको आयोजना तथा डिभिजन वन कार्यालय हडिया सुन्दरपुरको समन्वयमा जिल्लाकै ठूलो नदी त्रियुगाको उकास जग्गा आसपासका क्षेत्रमा वृक्षरोपण गरेर दिवस मनाइएको हो ।

आज शनिबार जिल्लाको चौदण्डीगढी नगरपालिका १० स्थित महाभारत सामुदायिक वन उपभोक्ता समितिको हाताभित्रको नदी उकास रहेको २० हेक्टर जग्गामा खयर, अमला र टिक जातका विरुवा रोपेर चुरे संरक्षण दिवस मनाइएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख डा ईन्द्रप्रसाद सापकोटाले जानकारी दिए ।

दिवसको अवसर पारेर आज करिब एक हेक्टर जमिनमा खयरको बीउ मकै रोपेझैं रोपिएको उनको भनाइ छ ।

पूर्वी नेपालको इलामदेखि पश्चिम कञ्चनपुरसम्मका ३७ वटा जिल्लामा फैलिएको चुरे कूल भू–भागको १२ दशमवलव ७८ प्रतिशत क्षेत्रमा फैलिको छ । चुरे क्षेत्र भौगर्भिक रूपमा कमजोर, धेरै पानी पर्ने, भूकम्पीय कारणबाट अति जोखिमयुक्त, जैविक विविधतामा धनी रहेको, दुर्लभ वन्यजन्तुको वासस्थान र जैविक मार्ग हो ।

बलौटे ढुङ्गा एवम् माटो ढुङ्गाले बनेका कारण चुरे भूभाग निकै कमजोर रहेकाले पनि चुरे संरक्षण गर्नु जरुरी रहेको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख सापकोटाले बताए ।

चुरे क्षेत्रमा भावी पुस्ताको बाँच्न पाउने अधिकार समेतलाई ख्याल गरेर यस क्षेत्रको व्यवस्थित भौतिक विकास गर्न र वातावरणीय अध्ययन गरेर मात्र ढुङ्गा, गिट्टी र बालुवाजस्ता प्राकृतिक स्रोतको सङ्कलन तथा उत्खनन गर्न कार्यक्रममा उपस्थित वक्ताहरूले जोड दिएका छन् ।

चुरे क्षेत्रमा जनसंख्या वृद्धि, बसाइँसराइ र भौतिक पूर्वाधार विकासका कारण सहरीकरण दिन प्रतिदिन बढ्दै गएको छ । बढ्दो भौतिक विकासले चुरे क्षेत्रको पारिस्थितिको प्रणालीलाई पारेको असरलाई कसरी कम गर्न सकिन्छ र हिजो नष्ट भएका पारिस्थितिकीय प्रणालीलाई कसरी पुन:स्थापना गर्न सकिन्छ भनेर सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको समेत वक्ताहरूले बताएका छन् ।

सरकारले २०७१ साल असार २ गते राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको गठन गरेको थियो । सोही समिति गठनको दिनलाई चुरे संरक्षण दिवसको रूपमा मनाइँदै आएको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सरकारको प्रकृति संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्य लिएको राष्ट्रिय गौरवको आयोजना हो ।

‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने मुल नारासहित आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो भने कार्यक्रममा डिभिजन वन कार्यलका प्रमुख डा. ईन्द्रप्रसाद सापकोटासहित वन अधिकृत जागेश्वर शाह, सहायक प्रमुख जिल्ला अधिकारी बिनोद पोखरेल, जिल्लास्थित नेपाल प्रहरी प्रमुख ज्ञानेन्द्र फुयाँल, सशस्त्र प्रहरी प्रमुख अशोक शाक्य, राष्ट्रिय अनुसन्धान प्रमुख कुलचन्द्र नेपाल, चौदण्डीगढी नगरपालिका वडा नं १० का अध्यक्ष धर्मराज खड्कालगायतको उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता महाभारत सामुदायिक वनका अध्यक्ष सुवास अधिकारीले गरेका थिए भने कार्यक्रमको सञ्चानल डिभिजन वन कार्यालयका रेन्जर पुण्य पौडेलले सञ्चालन गरेका थिए ।