२८ आश्विन २०८३, बुधबार

कांग्रेसद्वारा जनकपुरधामका मेयरमाथिको कारबाही फुकुवा, साविकको पदलाई निरन्तरता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, ३० जेठ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहमाथिको कारबाही फुकुवा गरेको छ ।

साहको कांग्रेसभित्रको साविकको पदलाई निरन्तरता दिँदै कारबाही फुकुवा गरेको हो ।

स्थानीय तह निर्वाचन २०७९ मा पार्टीका तर्फबाट विद्रोही भएका उम्मेदवार, उनका प्रस्तावक र समर्थकलाई कांग्रेस पार्टीको विधान २०१७ (संशोधनसहित) धारा ३४ बमोजिम साधारण सदस्यसमेत नरहने गरी पार्टीले कारबाही गरेको थियो ।

साहले पुन: पार्टीमा रही हिजोका आफ्ना गतिविधिलाई आत्मसात् गर्दै पार्टीको आदर्श, सिद्धान्त र उद्देश्यअनुसार क्रियाशील रहने गरी सोमबार निवेदन दिई पार्टीमै रहने प्रतिबद्धता व्यक्त गरेकाले कांग्रेस केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नेगरी उनको साविकको पदलाई निरन्तरता दिँदै कारबाही फुकुवा गरिएको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिए ।

साह यसअघि कांग्रेसको जनकपुरधाम नगर सभापति थिए । साहले स्थानीय तहको निर्वाचनका क्रममा ९ वैशाख २०७९ मा नगर सभापति पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

निर्वाचनका दौरान गठबन्धनले जनकपुरधाम जनता समाजवादी पार्टीलाई दिने निर्णय गरेपछि असन्तुष्ट जनाउँदै साहले कांग्रेस परित्याग गर्दै नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।