२८ आश्विन २०८३, बुधबार

नेकपा एमालेबिना राष्ट्रिय राजनीतिले नयाँ कोर्ष लिन सक्दैन : राजेन्द्र गौतम

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । नेकपा एमालेको प्रचार तथा प्रकाशन विभागका नवनियुक्त प्रमुख राजेन्द्र गौतमले एमालेबिना मुलुकको राष्ट्रिय राजनीतिले नयाँ कोर्ष लिन नसक्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज विभाग प्रमुखको पदबहाली गर्दै उनले एमालेबिना मुलुकको राजनीति अघि बढ्न नसक्ने बताएका हुन् । उनले सञ्चार माध्यममा समसामयिक विषय प्रस्तुत गर्दा नेकपा एमालेको धारणा पनि समेटेर सम्प्रेषण गरिदिन सम्पूर्ण सञ्चार माध्यमलाई आग्रह समेत गरेका छन् ।

‘नेकपा एमालेलाई एक्ल्याएर वा हटाएर नेपालको राष्ट्रिय राजनीतिले एउटा कोर्ष लिन सक्दैन भन्ने मलाई लाग्छ,’ उनले भने, ‘हामी हरबखत मिडियाका साथीहरूसँग फ्रेन्डशीपकै अवस्थामा छौँ । रहँदारहँदै पनि सिङ्गो आम सञ्चारको क्षेत्रमा रहनुभएका साथीहरूलाई हाम्रो एउटै आग्रह छ, तपाइँहरूको प्रस्तुति, समाचारको संश्लेषण र विश्लेषण गरिरहँदाखेरि नेकपा एमालेले के भन्छ, उसको ओपिनियन के छ भन्ने विषयले पनि ठाउँ पाउनेछ भन्ने विश्वास हामीले गरेका छौँ ।’

सञ्चारमाध्यमसँगको एक्सिसका हिसाबले एमाले सञ्चारमाध्यमहरूकै बीचमा रहेको बताउँदै उनले वैचारिक हिसाबले तलमाथि भए पनि सूचना सम्प्रेषण गर्ने कुरामा एङ्गल फरक भए पनि तथ्यलाई सही ढङ्गले समावेश गरिदिन पनि उनले आग्रह गरेका छन् ।

‘हाम्रो पार्टीले पूर्ण स्वतन्त्रतासहितको लोकतन्त्र ‘कम्प्रोहेन्सिभ डेमोक्रेसी’ लाई विकास गर्ने कुरामा विशेष जोड दिएको छ । यसका अतिरिक्त सञ्चार क्षेत्रसँग हाम्रो पार्टीले केही अपेक्षा पनि गर्दछ,’ उनले अगाडि भने, ‘आफूले यो जिम्मेवारी लिइरहेको सन्दर्भमा जिम्मेवारी र उत्तरदायित्वसहितको विश्वसनीयता र तटस्थतासहितको हाम्रो भूमिका र हाम्रो पार्टीका निर्णयहरू, हाम्रा ओपिनियनहरूले ठाउँ पाउन सकून् ।’

पत्रकारिताका पृष्ठभूमिका गौतम २२ वर्षअघि पार्टी प्रचारको सचिव बनेर काम गरेका थिए ।

कार्यक्रममा यसअघि प्रचार विभाग उपप्रमुख रहेका विष्णु रिजाललाई विदाई समेत गरिएको थियो ।