
काठमाडौं, २९ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिस्ट पोलिटिक्स कहिले पनि सफल नहुने बताएका छन् ।
पार्टी प्रचार तथा प्रकाशन विभागले आज केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नयाँ राजनीतिक दलले नीतिमा बहस गर्नुपर्ने बताउँदै पपुलिस्ट पोलिटिक्स कहिले पनि सफल नहुने बताएका हुन् ।
‘विकल्प खडा गर्ने पपुलिष्टहरू कहिल्यै पनि सफल भएको इतिहास छैन । नेपालको समस्या समाधानका लागि सुदृढ राजनीतिक दल स्थापित गर्नुपर्छ,’ महासचिव पोखरेलले भने, ‘बलियो राजनीतिक शक्ति निर्माण गर्न धु्रवीकरणका लागि विभाजित कम्युनिस्ट पार्टीहरुलाई पार्टीमा फर्किन आव्हान गरेका छौं ।’
जबजको आलोकमा कार्यकर्ताले चाहेका नेताहरु नै एमालेको नेतृत्वमा पुग्ने उनको भनाइ छ ।
यस्तै, उनले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने भन्ने कुरा गलत रहेको निष्कर्षमा एमाले पुगेको बताएका छन् । ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने र लोकतान्त्रिक विधिबाट नेतृत्वमा बदलाव ल्याउन नसकिने भन्ने नहुने उनले बताए ।
नेकपा एकीकृत समाजवादीका तेस्रो तहका नेता मुकुन्द न्यौपानेलाई पार्टी एकीकरणको सन्दर्भमा जोड्ने प्रयत्नअन्तर्गत केन्द्रीय कमिटीको सदस्यमा मनोनीत गरिसकेपछि उठ्ने प्रश्नको सम्बोधनका रुपमा ७० वर्षे उमेर हद हटाइएको उनको भनाइ छ ।
उनले नेकपा एमाले पुराना पार्टीहरुमध्ये सबैभन्दा धेरै नेतृत्व परिवर्तन गर्ने पार्टी भएको उल्लेख गर्दै नेकपा एमाले लोकतान्त्रिक अभ्यास र नेतृत्वको जीवन्ततामा विश्वास गर्ने पार्टी भएको बताए ।













प्रतिक्रिया