२८ आश्विन २०८३, बुधबार

आलु प्याज जसरी सवारी साधन किन्न सकिदैन, विद्युतीय सवारीको कर न्यून हो : अर्थमन्त्री

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २९ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमा पार गएर आलु प्याज किने जसरी सवारी साधन खरिद गर्न नसकिने भन्दै करका दरसम्बन्धीका सूचना चुहाएर धेरै गाडी आयात भए भन्न नमिल्ने बताएकउा छन् ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको सामान्य छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा महतले विद्युतीय गाडीमा निर्धारण गरिएको करका दरसम्बन्धी सूचना चुहावट भएकाले बजेट अगाडि धेरै गाडी आयात भए भन्नुको कुनै अर्थ नभएको बताएका हुन् ।

अहिले आयात भएका एक हजार तीन सय गाडीमध्ये ९० प्रतिशत गाडीको प्रतितपत्र (एलसी) चैतमै खुलेको पनि उनको भनाइ छ । ‘करको दर परिवर्तन गर्ने प्रस्तावसम्बन्धी छलफल बजेट आउने अघिल्लो दिन रातिमात्र हुने र उक्त समयमा भन्सार बन्द हुने गरेको छ, हरेक बर्ष बजेट भाषण अगाडि भन्सारबाट धेरै सामान आयात हुन्छ, तथ्याङ्कले नै यो पुष्टि गर्छ, राजश्व तिर्ने क्षमता भए नाकामा रोकिएका सामान पनि यही समयमा भित्रिने गरेको छ,’ उनले भने ।

विद्युतीय सवारी साधन प्रवद्र्धन गर्नकै लागि नेपालमा सार्क मुलुकमै सबैभन्दा कम कर लगाइएको समेत मन्त्री महतको भनाइ छ । सार्क मुलुकमा विद्युतीय सवारी साधनमा लाग्ने पैठारी महसुल दर नेपालको तुलनामा धेरै रहेको उनले बताए ।

भारतमा अनएसेम्बल अवस्थाका साधनमा ३५ प्रतिशत, ४० हजार अमेरिकी डलरसम्मका लागि ६० प्रतिशत र सोभन्दा बढी मूल्यको हकमा १०० प्रतिशत छ । पाकिस्तानमा ५० प्रतिशत, बङ्गलादेशमा सबै प्रकारको कर गरेर करिव ९० प्रतिशत र श्रीलङ्कामा ५० किलोवाटसम्मका लागि १५ प्रतिशत भन्सार र प्रतिकिलोवाट १५ हजार अन्त:शुल्क लाग्ने व्यवस्था रहेको मन्त्री महतको भनाइ छ ।

अर्थमन्त्री डा महतले सर्वसाधरणले प्रयोग गर्ने २०० सीसी क्षमताको मोटरसाइकलको अन्त:शुल्क र २००० सीसी क्षमताको कारको अन्त:शुल्क एउटै भएकाले त्यसलाई समायोजन गरिएको पनि स्पष्ट पारे ।

अर्थमन्त्री डा महतले गत आर्थिक वर्षमा २०० सिसि क्षमताभन्दा माथिका मोटरसाइकलमा लाग्ने अन्त:शुल्क मात्र बढेको र अन्त:शुल्कको दर २००० सीसी क्षमतासम्मका चारपाङ्ग्रे सवारी साधनको भन्दा बढी रहेको देखिएकाले करका दर समायोजन गरिएको स्पष्ट पारेका छन् ।

त्यस्तै, २०० सीसीदेखि ४०० सीसी क्षमतासम्मका मोटरसाइकलको समूहभित्र कुनै एक निश्चित कम्पनी र घरनाले आयात गर्ने निश्चित ब्राण्डका मोटरसाइकल मात्र नपरी एक दर्जनभन्दा बढी कम्पनीले आयात गर्ने एक दर्जनभन्दा बढि ब्राण्डका करिब तीन दर्जन मोडलका मोटरसाइकल पनि पर्ने उनले बताए ।