२८ आश्विन २०८३, बुधबार

मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली फिलिपिन्स प्रस्थान, एन्फाले गर्‍यो विदाइ (तस्वीरहरू)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । मैत्रीपूर्ण खेलका लागि फिलिपिन्स जान लागेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई विदाई गरिएको छ ।

आज आइतबार एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा)का एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्बाङ लगाएत पदाधिकारीहरुले राष्ट्रिय पुरुष फुटबल टोलीलाई विदाइ गरेका हुन् ।

साफ च्याम्पियनसिपको तयारी स्वरूप मैत्रीपूर्ण खेलका लागि नेपाली टोली फिलिपिन्स जान लागेका हुन् । नेपालले बिहीबार फिलिपिन्ससँग एक मैत्रीपूर्ण खेल खेल्नेछ ।

विदाई कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका किरण चेम्जोङले साफ च्याम्पियनसिपमा सवै टोली कडा प्रतिष्पर्धी रहेपनि नेपाली टोलीको तयारी राम्रो भएको बताए । उनले चूनौती भए पनि उत्कृष्ट नतिजा निकाल्ने विश्वास रहेको बताएका छन् ।

त्यस्तै, उनले राज्यले खेलाडीहरुलाई उचित व्यवस्था गर्न नसक्दा राम्रा खेलाडीहरु विदेशीन बाध्य भएको धारणा व्यक्त गरेका छन् ।

त्यस्तै, मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले प्रशिक्षका क्रममा खेलाडीहरुले राम्रो गरेकाले नतिजा पनि राम्रै आउने बताए ।

भारतमा आयोजना हुने १४औं संस्करणको साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म हुनेछ । बेंगलुरुमा हुने च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

साफमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ । यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

तस्वीरहरू : अखिल नेपाल फुटबल एसोसिएशन (एन्फा)