
काठमाडौं, २८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेको छ ।
प्रतिनिधि सभाको आज बसेको बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले यही जेठ ३० गतेअगावै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने बताएका हुन् ।
युद्ध अपराध गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेका कारण प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिनुपर्ने सांसद माग छ ।
‘सम्माननीय प्रधानमन्त्रीज्यू यो संसदको सदस्य पनि हो । तर, आज उहाँविरुद्ध सर्वोच्च अदालतमा युद्ध अपराध जस्तो जगन्य अपराधको मुद्दा चलिरहेको,’ राप्रपाका प्रमुख सचेतक समेत रहेका सांसद शाहीले भने, ‘सर्वोच्च अदालतले उहाँलाई यही ३० गते अदालतमा हाजिर हुन भनेको छ । म यहाँ सोध्न चाहान्छु त्यस दिन उहाँ यो देशको प्रधानमन्त्री भएर अदालत जानुहुन्छ कि पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएर ?’
जघन्य अपराधको मुद्दा लागृपछि प्रधानमन्त्रीले नैतिकताको आधामार पदबाट राजीनामा दिए र अदालती प्रक्रियालाई सहज गर्नुपर्ने उनको भनाइ छ । ‘यदि युद्ध अपराधको मुद्दामा अदालत जाने बेलामा प्रधानमन्त्रीकै हैसियतमा जानुहहुन्छ भने त्यो मान्य हुँदैन । किनकी त्यो अपराध यो देशले गरेको होइन, व्यक्तिले गरेको हो । त्यसकारण उहाँले तत्काल राजीनामा दिनुपर्छ,’ सांसद शाहीले भने ।
प्रधानमन्त्री प्रचण्डमाथि धेरै मुद्दा भएको र यो युद्ध अपराधसँग जोडिएको मुद्दा सामान्य नभएको सांसद शाहीको धारणा छ । ‘यो सामान्य कुरा होइन । युद्ध अपराध जस्तो मुद्दा दर्ता भइसकेपछि त्यो पदमा उहाँ बसिरहन मिल्दैन,’ उनले भने ।
शाहीले बोलेलगतै माओवादी केन्द्रका सांसद माधव सापकोटाले सांसद शाहीले निरन्तर प्रधानमन्त्रीलाई गैरराजनीतिक तरिकाले लखेटिरहेको र हुर्मत लिने काम भएको भन्दै शाहीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए ।
सभामुख देवराज घिमिरेले सांसदहरुले राखेका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।
प्रतिनिधिसभाको अर्को बैठक सोमबार बोलाइएको छ । उक्त बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।













प्रतिक्रिया