२८ आश्विन २०८३, बुधबार

कांग्रेस सांसद गिरीले संसदमा भने– झोले सांसदलाई बालेनले वडाध्यक्षस्तरमा पुर्‍याएको ठिकै हो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले प्रतिनिधि सभाका सांसदहरू ‘झोले’ भएको अभिव्यक्ति दिएका छन् ।

आज आइतबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसद गिरीले आफूहरू झोले सांसद भएको भन्दै काठमाडौंका मेयर बालेन साहले वडाध्यक्षको स्तर दिएको ठिकै भएको बताएका हुन् ।

बालेनले सांसदहरुको हैसियतलाई वडाध्यक्षको स्तरमा पुर्‍याएको विषय व्यावहारिक रुपमा सही रहेको जिकिर गर्दै उनले भने, ‘म त काठमाडौं महानगरपालिकाका मेयर बालेनजीलाई सलाम गर्छु । उहाँले कमसेकम हामी झोलेलाई वडाअध्यक्षस्तरमा पुर्‍याइदिनुभयो । कम गाह्रो छ ? कम कठिन छ ? हामीलाई काम गर्न ?’

सांसदहरुलाई जनताको अपेक्षा पूरा गर्न कठिन भएको गुनासो गर्दै उनले भने, ‘अहिले सांसदको अविगत के छ ? म आफूलाई झोले सांसद भन्न चाहान्छु । राति १२ बजे फोन आउँछ एउटी बुढी आमाको । बाबु ! मेरो त खसी एउटा मर्‍यो । कहीँबाट केही पाइन्छ कि बाबु ! फेरि अर्को फोन आउँछ, मेरी बुहारी छोरोलाई किताब किन्छु भनेर नेपालगञ्ज गएकी आज २७ दिन भयो आएकी छैन । बाबुले खोजबिन गरिदिनुपर्‍यो ।’

सांसदको काम कानुन बनाउनेमात्रै हो भनेर जनतालाई थाहा नभएको र आफूहरूसँग पनि विकास र जनजीवीकाको सवालमा धेरै अपेक्षा जनताले गरिरहेको बताउँदै उनले भने, ‘थाहा छ र नेपाली जनतालाई सांसदले कानुन मात्रै बनाउने हो भनेर ? त्यसो भए जनजीवीकाको कुरामा पनि हामीलाई किन खोज्छन् ?’

उनले बजेटमा आयोजनाको वितरणमा जनताको गुनासो देखिएको र पहुँचका भरमा आफ्नो क्षेत्रमा धेरै बजेट लाने प्रवृतिलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । गिरीले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत मात्रै सबै क्षेत्रमा समानुपातिक ढंगले बजेट गएको धारणा व्यक्त गरे ।

उनले सरकारले हरेक वर्ष अपराह्न चार बजे मात्रै बजेट भाषण गर्ने प्रचलनलाई परिवर्तन गर्नुपर्ने बताए ।