
सुर्खेत, २७ जेठ । लोपोन्मुख राउटे समुदायकी १४ वर्षीया मयोका पति दलबहादुर शाहीको अघिल्लो वर्ष साउन १८ गते मृत्यु भयो । १२ वर्षको उमेरमा मयोको ३२ वर्षका दलबहादुरसँग विवाह भएको थियो । मयोले १३ वर्षमा छोरी जन्माइन् । जन्मेको केही महिनामै उनकी छोरीको मृत्यु भयो । राउटे संस्कारअनुसार उनले अर्को विवाह गर्न पाउँदिनन् ।
राउटे समुदायकै १८ वर्षीया किताब शाहीका पति मानसिंहको पनि दुई वर्षअघि मृत्यु भयो । किताबको १४ वर्षको उमेरमा २५ वर्षका मानसिंहसँग विवाह भएको थियो । किताबले छोरी जन्माइन् । जन्मेको केही महिनामै उनकी छोरीको मृत्यु भयो । किताबले पनि अर्को विवाह गर्न पाउँदिनन् ।
राउटे समुदायमा पति गुमाएका महिलालाई दोस्रो विवाह गर्न वर्जित छ । बस्ती एउटै भए पनि ‘विधवा’लाई छेउतिर छुट्टै घरमा राख्ने चलन यो समुदायमा छ । लोपोन्मुख घुमन्ते राउटेको जनसंख्या घट्दो क्रममा छ । तत्कालीन जिल्ला विकास समिति सुर्खेतले पहिलो पटक २०७१ चैतमा राउटे समुदायका मानिसको फोटोसमेत खिचेर गणना गरेको थियो । त्यसबेला राउटेको संख्या १८४ थियो । अहिले त्यो संख्या घटेर १४१ मा भएको छ । राउटे समुदाय परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्दैनन् । राउटे समुदायमा एउटी महिलाले १८ वटासम्म बच्चा जन्माएको उदाहरण छ । यति हुँदाहुँदै पनि राउटेको संख्या किन घट्दै गएको छ त ? धेरैले मदिरा सेवनलाई यसको मुख्य कारण मान्छन् । मदिरासँगै राउटे समुदायको संख्या घट्नुको अर्को कारण ‘गोत्र’ सँग जोडिएको छ ।
राउटे समुदायका तीनवटा गोत्र छन्–रास्कोटी, स्ववंशी र कल्याल । राउटेको आफ्नै गोत्रमा बिहेवारी चल्दैन । रास्कोटी, स्ववंशी र कल्याल गोत्रबीच एक–अर्कासँग विवाह हुन्छ । यो समुदायमा कल्यालको संख्या अधिक छ । स्ववंशी र रास्कोटीको संख्या न्यून छन् । कल्यालको संख्या धेरै हुँदा यो गोत्रका उमेर पुगेका युवक–युवतीको विवाह हुन मुस्किल भएको छ । स्ववंशी र रास्कोटी गोत्रका छोराछोरीको उमेर नपुग्दै विवाह हुन्छ ।
‘कल्याल गोत्रका छोराछोरी धेरै भए, अरू दुई गोत्रका राउटेको संख्या अत्यन्तै न्यून भयो,’राउटे समुदायसँग काम गर्दै आएका सामाजिक परिचालक लालबहादुरर खत्रीले भने, ‘कलिलैमा पति गुमाएका राउटे महिलाले दोस्रो विवाह गर्न नपाउने परम्पराका कारण पनि यो समुदायको जनसंख्या घट्दै गएको हो ।’उनले भनेजस्तै राउटे समुदायका कसैको १२ वर्ष नपुग्दै विवाह भइसक्छ । कसैको भने ३० वर्ष उमेर पार गर्दा पनि विवाह भएको छैन । यसको मुख्य कारण एउटा गोत्रको संख्या धेरै हुनु र अरू गोत्रको संख्या कम हुँदै जानु हो । दलबहादुर र मानसिंह कल्याल गोत्रका हुन् । दुवैले स्ववंशी र रास्कोटी गोत्री कन्यासँग विवाह गरेका थिए । अर्को गोत्रकी कन्या १२ वर्ष नपुग्दासम्म विवाह गर्न मिल्दैन । त्यसैले दुवैले आफूभन्दा करिब आधा उमेरले कान्छीसँग विवाह गरेका थिए । पछिल्लो समय राउटे समुदायमा मदिराको अत्यधिक खपत हुन थालेको छ । मदिरा सेवनकै कारण धेरैले युवा अवस्थामै ज्यान गुमाइरहेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।













प्रतिक्रिया