
काठमाडौं, २६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेश नामाकरणका विषयलाई लिएर एमालेमाथि नियोजित रुपमा भइरहेको आक्रमणका घटना नरोकिए एमाले प्रतिरोधमा उत्रिन बाध्य हुने बताएका छन् ।
कोशी प्रदेश नामाकरणमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समेत समर्थन रहेको र अहिले पहिचान पक्षधरहरूको नाममा एमाले र एमालेका नेता तथा कार्यकर्ताहरूमाथि बारम्बार आक्रमण र हत्यासम्मको प्रयास हुनु दु:खद् रहेको महासचिव पोखरेलले बताएका छन् ।
‘विधिवत रुपमा कोशी प्रदेश नामाकरण गरिएपछि पहिचानवादीका नाममा अराजनीतिक र अपराधिक क्रियाकलाप नेकपा (एमाले)का नेता र कार्यकर्ताका विरुद्धमा मात्र लक्षित देखिनु र त्यसको संरक्षण सत्तापक्षबाट हुनु अत्यन्त दु:खद पक्ष हो,’ सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै उनले भनेका छन्, ‘केन्द्रीय सत्ताको संरक्षणमा नेकपा (एमाले)का विरुद्धमा कोशी प्रदेशमा भइरहेका लगातारका अपराधिक घटानप्रति नेकपा (एमाले) अत्यन्त गम्भीर भएको छ ।’
आक्रमण प्रयासका घटनामा संलग्नहरूलाई नगरिए आफूहरू प्रतिरोधमा उत्रिने चेतावनी दिदै उनले लेखेका छन्, ‘नियोजित रुपमा मञ्चन गरिएका यस प्रकारका अपराधिक घटनाक्रमहरुलाई अविलम्व नरोक्ने र त्यस्ता घटनामा संलग्न दोषीहरुलाई कानुन अनुसार कारबाही नगर्ने हो भने नेकपा (एमाले) आफ्ना नेता र कार्यकर्ताको सुरक्षाका लागि प्रतिरोधमा उत्रन बाध्य हुनेछ र त्यसबाट उत्पन्न हुनसक्ने सबैखाले परिस्थितिको जिम्मेवार सत्तापक्ष नै हुनेछ ।’
प्रदेशको नामाकरण प्रदेशसभाको अधिकार भएको बताउँदै उनले लेखेका छन्, ‘सबै प्रदेशले पहिलो कार्यकालमा आफ्नो नाम राखिसक्दा पनि दुई तिहाईको अभावमा प्रदेश १ ले आफ्नो प्रदेशको नाम राख्न सकेको थिएन । नयाँ चुनावपछि गठन भएको प्रदेश १ को प्रदेश सभाले दुईतिहाइ वढिको समर्थनबाट आफ्नो प्रदेशको नाम कोशी राख्न सफल भएको थियो । जसमा केन्द्रीय सत्ता गठवन्धमा रहेका नेकाँ र माकेको समेत साथ र समर्थन थियो ।’













प्रतिक्रिया