
काठमाडौं, २६ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजादेखि बिप्लव माओवादीसम्म अट्ने प्रणालीबारे बहस गर्नुपर्ने समय आएको बताएका छन् ।
पार्टीमा आबद्ध जनवर्गीय संगठनहरुको संयुक्त बिरोध प्रदर्शनमा सहभागी हुँदै उनले गणतन्त्रले देशलाई स्थायी र समृद्धिको दिशामा लैजान नसकेको बताउँदै अब राजादेखि बिप्लव माओवादीसम्म अट्ने राज्य प्रणालीबारे बहस हुनुपर्ने बताएका हुन् ।
देशमा भएका ठूला भ्रष्टाचारका काण्डहरुको फाइल खोलेर दोषीलाई तत्काल कारबाही प्रक्रिया अघि बढानुपर्नेमा थापाको जोड छ । ‘वाइडवडी घोटाला, एनसेल करछली, ललिता निवास काण्ड, ३३ किलो सुन काण्ड, सार्वजनिक जग्गा अतिक्रमणजस्ता जघन्य भ्रष्टाचारका काण्डहरुको सत्यतथ्य छानबिन गरि दोषीलाई कार्बाही हुनुपर्छ,’ थापाले भने ।
यस्तै, नागरिकता बिधेयकले देशको स्वाधीनताको रक्षा गर्न नसक्ने भन्दै थापाले नागरिकता विधेयक खारेज हुनुपर्ने, संघीयताले मुलुकलाई टाट पल्टाउने भएकाले संघीयता पनि खारेज हुनु पर्ने धारणा व्यक्त गरेका छन् ।
यसैगरी, मुलुकको पहिचानको रुपमा रहेको हिन्दु राष्ट्रलाई अनावश्यक रुपमा हटाइएको भन्दै थापाले मुलुकलाई सर्बधर्म समभावसहितको सनातन हिन्दुराष्ट्र हुनुपर्ने विचार व्यक्त गरे । यउस्तै, उनले नक्कली भुटानी शरणार्थी प्रकरणको चुरोसम्म पुग्न र दोषीलाई कारबाही गर्ने हिम्मत गर्न समेत थापाले आग्रह गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले देशको हित भन्दा पनि राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाएको भन्दै उनले असन्तुष्टि पोखे । बेरोजगारी र बढ्दो धर्म परिवर्तन प्रति सरकार उदासिन भएकोमा आपत्ति प्रकट गर्दै थापाले मुलुकको डरलाग्दो वित्तीय सङ्कट समाधानको निमित्त सरकारसँग कुनै नीति, योजना कार्यक्रम नभएको समेत जिकिर गरेका छन् ।













प्रतिक्रिया