शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

आलु र प्याजसहित दैनिक उपभोग्य वस्तुमा कर लगाउँदा सर्वसाधारणलाई असर गर्दैन : अर्थमन्त्री

‘वैज्ञानिक कर प्रणालीका कारण राजस्वको दायरा फराकिलो बन्छ’

दैनिक नेपाल २०८० जेठ २६ गते १५:०९

काठमाडौं, २६ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले बैज्ञानिक कर प्रणालीका कारण राजस्वको दायरा फराकिलो हुने विश्वास व्यक्त गरेका छन् ।

आज शुक्रबार राष्ट्रियसभाको बैठकमा बजेटमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिदै अर्थमन्त्री महतले भ्याटको दर घट्दै जाने र छुट हरेक बर्ष बढ्दै जाने प्रवृतिलाई हटाइएको र राजस्वका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको बताएका हुन् ।

अर्थतन्त्रलाई सहज बनाउनका लागि बजेटले चालेको कदमका बिरुद्ध केही स्वार्थ समूहहरु विरोधमा उत्रेको उनले बताए । उनले करको दायराले स्वदेशमा नै उत्पादन हुने प्याज आलू जस्तो बस्तुलाई कुनै असर नपर्ने र आयातलाई निरुत्साहन गर्नका लागि करको प्रस्ताव ल्याइएको जिकिर गरे ।

विद्युतीय सवारी साधानमा कर तथा दैनिक उपभोग्य वस्तुमा कर लगाउँदा आमनागरिकलाई असर नगर्ने उनको भनाइ छ । विद्युतीय सवारीमा कम क्षमताका सवारीका लागि कम दर, बढी क्षमताका लागि बढी, त्योभन्दा पनि बढी क्षमताका गाडीलाई अझ बढी दर लगाइएको अर्थमन्त्रीले बताए ।

उनले विद्युतीय सवारी साधनमा करको दर हेरफेर गर्दा सूचना चुहाएको आरोप झुटो भएको जिकिर गरेका छन् । त्यस्तै, उनले ६ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य प्रभाकारी खर्च, निजी क्षेत्रको सहि तवरले परिचालन भए सम्भव रहेकाले महत्वाकांक्षी नभएको दाबी पनि गरेका छन् ।

उनले संसदीय क्षेत्र पूर्वाधार कार्यक्रममाथि अविश्वास गर्नुपर्ने कुनै कारण नभएको जिकिर गरे । त्यस्तै, अर्थमन्त्री महतले स्थानीय उद्योग व्यवसायलाई प्रवर्द्धन गर्नका लागि बजेटमार्फत आवश्यक सहजीकरण गरिएको तर्क गरे ।

प्रतिक्रिया
सम्बन्धित