बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

हवाइजहाज किन्न नदिन मविरुद्ध पापी मनहरूको घेराबन्दी छ : मन्त्री किराती

दैनिक नेपाल २०८० जेठ २५ गते २०:२९

खोटाङ, २५ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूविरुद्ध पापी मनहरूले घेराबन्दी गरेको बताएका छन् ।

खोटाङको दिक्तेल बजारमा जडान गरिएको अग्नि नियन्त्रण यन्त्र (फायर हाइड्रेन्ट गेट भल्भ) उद्घाटन कार्यक्रममा उनले तीन वटा सानो जहाज किन्ने प्रक्रिया थालेपछि पापी मन भएकाले घेराबन्दी गरिरहेको बताएका हुन् ।

‘घाटामा गएको नेपाल वायुसेवा निगमलाई मैले मन्त्रालय सम्हालेको करिब तीन महिनामै चार अर्ब रुपैयाँ ऋण घटाएको छु । अहिले हामी तीन वटा जहाज किन्ने प्रक्रियामा छौँ । हवाइजहाज किन्न नदिन संसारभरका पापी मनहरूले घेराबन्दी गरिरहेका छन्,’ मन्त्री किरातीले भने ।

जनताको साथ पाए प्रक्रिया र प्रणालीमा पारदर्शी तरिकाले पाँच पैसा घोटाला हुन नदिने गरी जहाज ल्याउने प्रतिबद्धता उनको छ ।

मन्त्रालयले खरिद गरेर ल्याइने दुई वटा जहाज पश्चिम नेपालमा र एउटा पूर्वी नेपालको विराटनगरमा राखेर उडान भर्ने व्यवस्था मिलाइने मन्त्री किरातीको भनाइ छ । ‘हवाईजहाज अभावमा गौचरणमा परिणत भएका देशका २२ वटा विमानस्थलमा एक जना सुत्केरी भए पनि उडान भर्ने गरी तयारी थालिएको छ,’ उनले भने, ‘म मन्त्री भएर जाँदा हवाईजहाज त बेहोस अवस्थामा भेन्टिलेटरमा सुतिरहेको रहेछ । त्यसलाई हामी उपचार गर्दैछौँ । २२ वटा विमानस्थल गौचरणमा परिणत भएको छ । कारण जहाजमाथि ठूलाठूला भ्रष्टाचार भए । पापीको आँखा लागे, लुट्नैसम्म लुटिए । खाने, पिउने र रमाउने ठाउँ त्यही मन्त्रालयलाई बनाए । अब यसरी चल्न दिन्नँ ।’

उनले खोटाङको तीनवटै विमानस्थलमा नियमित उडान/अवतरण गर्नेगरी तयारी थालिएको जानकारी पनि दिएका छन् । प्राधिकरणमा विमान नभएकै कारण उडान/अवतरण हुन नसकेको जानकारी दिदै मन्त्री किरातीले अबको केही समयपछि नै खोटाङका तीनवटै विमानस्थलमा नियमित उडान/अवतरण हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित